बालबालिकालाई सम्पुर्ण खोप दिएर पुर्णखोप सुनिश्चित जिल्ला घोषणा
आइतबार, असार ३१, २०८१ मा प्रकाशित

बर्दिया,असार ३० (फरकसमाचार)/ राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाले पाउनु पर्ने सम्पुर्ण खोप दिएर पुर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । जिल्ला पूर्णखोप समन्वय समितिले शनिबार कार्यक्रम आयोजना गरि पूर्णखोप जिल्ला सुनिश्चितता तथा दिगोपन घोषणा गरेको हो । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप जिल्ला सुनिश्चित बर्दिया जिल्ला हाम्रो प्रतिबद्धता’भन्ने नाराकासाथ पुर्णखोप सुनिश्चिता घोषणा गरिएको छ ।

चालु आर्थिक वर्ष ०८०/०८१ मा १६ देखि ५९ महिनाका ४ हजार ९ सय २१ र २४ देखि ५९ महिनाका १९ हजार ७ सय ३७ बालबालिकालाई खोप दिएर पुर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले बताए । ‘जसमा १ सय ५३ बालबालिका पुर्णखोपबाट छुटेका थिए र ४ जनाले कुनै खोप नलिएको भेटिएका थिए,’कार्यालय प्रमुख गिरीले भने,‘खोप नलिएका पाँच वर्ष मुनिका बालबालिकालाई पुर्णखोप दिईएको छ ।’ जिल्ला स्थित आठ वटै स्थानीय तहलाई पुर्णखोप सुनिश्चित घोषणा गरिसकेका छौं । यस अभियानमा साथ सहयोग गर्ने सम्पुर्णलाई प्रमुख गिरीले धन्यवाद व्यक्त गरे ।

पुर्णखोपले रोग लाग्ने दर घट्ने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन मगरले बताए । ‘भवनको माथिको भाग कस्तो छ देख्न सकिन्छ,’मन्त्री पुन मगरले भने,‘तर भवनको भित्री जग कस्तो छ देख्न सकिदैन ।’ त्यसैगरि पुर्णखोप अभियानमा महिला स्वयमसेविका नदेखिने जगको रुपमा काम गरिरहेका छन् । उहाँहरुको उचित सम्मान गर्न जरुरी रहेको स्वास्थ्य मन्त्री पुन मगरले धारणा राखे ।
जिल्लामा कोही पनि बालबालिका नछुट्ने गरि खोप अभियान चलाएर शिशु मृत्यु दर अपांङता दर घटाउने उदेश्यले काम गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् ।

जिल्ला समन्वय समितिकी उप–प्रमुख अमिता कुमारी यादवको अध्यक्षतामा पुर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा आठ वटै पालिकाका एक/एक जना उत्कृष्ट खोपकर्ता, तीन जना ढुवानी कर्ता कर्मचारी र अवकास प्राप्त महिला स्वयमसेविकालाई सम्मानित गरिएको छ ।

पुर्णखोप सुनिश्चितता कार्यक्रममा लुम्बिनी प्रदेश सांसद राजकुमार चौधरी, बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारु, बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठी, गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतम, नेपाल पत्रकार महासंघका अध्यक्ष यादव आचार्यलगायत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय