बर्दिया,असार ३१ (फरकसमाचार)/ बर्दिया अस्पतालले सिमित स्रोत साधनको बाबजुद गुणस्तरीय सेवा दिदै आएको छ । विगतका वर्ष भन्दा अस्पतालमा क्रमशः सेवा सुधार र सेवा थपिदै गएको छ । यो जिल्लावासीको लागि सुखद रहेको छ । सामान्य उपचारको लागि बाहिर जानुपर्ने बाध्यता हट्दै गएको छ ।
अस्पतालले सेवा दिएर जिल्लावासीको विश्वास जित्न सफल भईरहेको सरोकारवालाले बताएका छन् । अस्पतालमा सेवा विस्तार भएका छन् तर, प्रयाप्त भौतिक पुर्वाधार र जनशक्ति नहुँदा कठिनाई पनि भईरहेको छ । अस्पतालको स्तरउन्नती भएमा अस्पतालले प्रभावकारी र गुणस्तरी सेवा सहजै दिन सक्छ । कुनै किसिमको बिरामीलाई बाहिरी जिल्ला धाउनुपर्ने बाध्यता हट्नेछ । जसले गर्दा अस्पतालको स्तरउन्नतीको लागि आ–आफ्नो तर्फबाट सबैले सघाउनुपर्ने जरुरी देखिन्छ ।
अस्पतालको आयोजना र सुनौलो महिला विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको सहजीकरणमा आइतबार आयोजित सामाजिक परिक्षण कार्यक्रममा स्तरउन्नतीको लागि सहयोगको माग गरिएको छ । ओपिडी, इमारजेन्सी भवन बहुवार्षिय निर्माणका लागि बजेट, डायलाईसिस वार्डको शौचालय र रयम्प नयाँ निर्माण, अस्पतालको रंगरोगन, पानी चुहिनेको मर्मत संभार, दरबन्दीको स्थायी पदपूर्ति विशेषज्ञ चिकित्सकहरुको यथासिघ्र पदपूर्तिको अस्पतालले माग गरेको छ ।
तत्काल छात्रवृत्ति विशेषज्ञ चिकित्सक अन्तर्गत प्रसुती तथा स्त्री रोग विशेषज्ञको पदपूर्ति जरुरी देखिएको छ । त्यसैगरि अस्पताललाई एक सय बेडमा स्तरउन्नती गरि नर्सिङ तथा पारामेडिक्स ईन्सिच्युट बनाउन आवश्यक रहेको माग गरिएको छ ।
बर्दिया अस्पतालको सामाजिक परिक्षणमा विगतको भन्दा अस्पतालको सेवामा सुधार हुँदै गएको सरोकारवालाले भनाई राखेका थिए । सामाजिक परिक्षण कार्यक्रममा सुनौलो महिला विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडकी अध्यक्ष ईन्दिरा सुबेदीले प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।
अस्पतालको सामाजिक परिक्षण आम भेला कार्यक्रममा लुम्बिनी प्रदेशकी सांसद मालती सोडारी, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, अस्पतालका वरिष्ठ मेसु डा. सुभाष पाण्डेय, नागरिक समाज संजालकी संयोजक हेमा सुनार, प्रहरी उपरीक्षक प्रबिण बिडारी,गुलरिया नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष विष्णु यादवलगायत संचारकर्मीहरुको उपस्थित रहेको थियो ।