बर्दिया,साउन ३ (फरकसमाचार)/ असार अन्तिममा दुई ट्रक बढि फलामका पाता र रड जस्ता देखिने वस्तु ठाकुरबाबा नगरपालिका परिसरमा खसाल्दा चासो बढेको छ । विल भुक्तानीको समय घर्के लगत्तै फलाम खसाएपछि बिभिन्न किसिमको प्रश्न उब्जिएका छन् । एकाएक रातारात खसालिएको फलामे पाता अबैधानिक भुक्तानीका लागि गरिएको प्रपन्च होकि भन्ने शंका नगरबासीमा उत्पन्न भएको छ ।
लुम्बिनी प्रदेश सरकारले असार २२ गते नै भुत्तानी रोकेको छ । भुक्तानी रोकिदा व्यबसायी भुक्तानीबाट बन्चित छन् । पुनः खाता खोल्ने तयारी लुम्बिनी प्रदेश सरकारको छ । पुनः खोल्ने भनिएको भुक्तानीको फाईदा उठाउँदै असार अन्तिममा खरिद गरेर फास्ट ट्याकमा भुक्तानी गर्न लागिएको होकि भन्ने आंशका व्याप्त छ ।
ठाकुरबाबा नगरपालिकाले बगनाहा निर्माण गर्न लागेको कोल्डस्टोरमा प्रयोग हुने सामान ठाकुरबाबा नगरपालिकामा राखेको बताएको छ । संघिय समपुरक र आन्तरिक स्रोतबाट भुक्तानी गर्ने गरी बगनाहामा कोल्ड स्टोर बन्दै गरेको नगरपालिका प्रशासनले जानकारी दिएको छ । तर,बगनाहामा कोल्डस्टोरको सामान भनेपनि ठेकेदारसँगको मिलिमतोमा नगरपालिका उच्चस्तरका कर्मचारी र जनप्रतिनिधि मिलिमतोमा भुक्तानी दिने तयारी भईरहेको स्रोतको दाबी छ ।
‘ठेकेदारको सामान नगरपालिकाले सुरक्षा दिन पर्ने कोहि कति लेखिएको छैन,’स्रोत भन्छ,‘संघिय सरकारको समपुरक बजेटबाट निर्माण भनिएको कोल्ड स्टोरको भुक्तानी नगरपालिकाले आन्तरिक स्रोतबाट दिलाउँन कर्मचारी माथी ठूलो दबाब छ, हेर्दा सामान्य भएपनि अबैध तरिकाले भुक्तानी दिन खिचडि पाकिरहेको छ ।’
बगनाहामा निर्माण हुने चरणमा रहेको कोल्ड स्टोरको सामान सुरक्षाका लागि नगरपालिकाको परिसरमा राखिएको प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले बताए । ‘कोल्ड स्टोरको सामान सुरक्षाको लागि नगरपालिका परिसरमा राखिएको छ,’उनले भने,‘कोल्डस्टोरको सामान हो पछि व्यबसायीले लैजान्छन् ।’ उनका अनुसार बगनाहामा बन्न थालेको कोल्डस्टोर संघिय समपुरक र नगरपालिकाको आन्तरिक स्रोतको लगानीबाट निर्माण हुदैछ ।