बर्दिया,साउन ६(फरकसमाचार)/ गुलरिया बजारको सिसि क्यामराबाट प्रहरीले निगरानी सुरु गरेको छ । गुलरिया नगरपालिकाको आर्थिक सहयोगमा बजारको मुख्य दश स्थानमा जडान गरिएको सिसि क्यामराद्वारा प्रहरीले निगरानी सुरु गरेको हो ।
जसको कन्ट्रोल रुम जिल्ला प्रहरी कार्यालयमा छ । गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव र प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शनिबार संयुक्त रुपमा सिसिटिभि कन्ट्रोल रुमको समुद्घाटन गरेका छन् । पछिल्लो समय गुलरिया बजारमा दिनदहाडै चोरीका घटना बढेको थियो । सिसि क्यामरा जडानले बजार क्षेत्रको निगरानीमा प्रहरीलाई सघाँउने विश्वास गरिएको छ ।
बजार क्षेत्रको निगरानीको लागि गुलरिया नगरपालिकासंग सिसिटिभि जडानको लागि अनुरोध गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रविण धिताले बताए । ‘आर्थिक वर्षको अन्तिममा पनि नगरपालिकाले हाम्रो माग स्विकार गर्यो,’एसपी धितालले भने,‘नगरपालिकाले रु २० लाखको बजेटमा गुलरिया बजारको मुख्य मुख्य स्थानमा सिसिटिभि जडान गरेको छ ।’
नगर पालिकाले गरेको यो पुन्य कामले बजारको निगरानी गर्न सहज हुने एसपी धितालले विश्वास व्यक्त गरे । सिसिटिभि समुद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी कुबेर कडायत, गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव,प्रजिअ रुद्रादेवी शर्मा, प्रहरी प्रमुख प्रविण धिताल, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहलगायतको उपस्थिती रहेको थियो ।