बर्दिया,साउन १४(फरकसमाचार)/ पहेलो धातुको ऐतिहासिक मुर्तिलगायत अटोमोबाईलका सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँसगढी नगरपालिका–५ स्थित पुर्वपश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ अबैध रुपमा लैजादै गरेको मुर्तिलगाएत अटोमोबाईलका सामानसहित दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका–११ लालपुरका २१ वर्षिय संजय राढ र भारत जिल्ला बहराईच लौकाहीका ४८ वर्षिय जब्बर खाँ रहेका छन् । पुर्वपश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ भे १ च १६९७ नंम्बरको पिकअफ भ्यान बुधबार दिउँसो तीन बजे शंकास्पद रुपमा जाँदै थियो । प्रहरीले भ्यान नियन्त्रणमा लिई चेकजाँच गर्दा पहेलो धातुको मुर्तिसहित अन्य सामान बरामद भएको छ । पक्राउ परेका राढ भ्यानका चालक हुन् भने खाँ सहयोगी हुन् । भ्यानमा १४ पोका भित्र विभिन्न किसिमका मुर्तिसहित अन्य सामान फेला परेको छ ।
प्रहरीका अनुसार देवी भगवतीको पहेलो धातुको जस्तो देखिने मुर्ति, नरसिंह देवको मुर्ति, बायुपंखी गाई जस्तो देखिने मुर्ति, सिंह जस्तो देखिने मुर्ति एक÷एक थान फेला परेको छ । पहेलो धातुको नन्दीको मुर्ति ४ थान र कालो धातुको टुकी ११ थान फेला परेको छ । भ्यागुता, फुलदानी, करुवा,कलस,पानी पिउने प्याला, पानस, घण्ट र सन्दुक एक÷एक थान फेला परेको हो ।
त्यसैगरि फलामको पट्टा १२ थान, बोल्ट ४ बट्टा, मोबिल, अयल फिल्टर, टेन्सनर ईडलर र अटो फ्युल पम्पलगायतका अटोमोबाईलका सामान बरामद भएको छ । फेला परेको सामान भ्यान र दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय गुलरियामा राखी थप अनुसन्धान भईरहेको डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।