बर्दिया,साउन १४(फरकसमाचार)/ घरमा कोही नभएको बेला गरगहनासहित नगद चोरी भएको छ । गुलरिया नगरपालिका–८ सर्जुनदी टपराकी तसबिरी मियाँको घरबाट गरगहनासहित नगद चोरी भएको हो । उपचार गराएर चौधौं दिनमा घर फर्किदा चोरी थाहा भएको मियाँले बताईन् । ‘उपचारको लागि बुढाबुढी भारत गएको मौकामा घरमा चोरी भएको हो,’उनले रुदै भनिन्,‘घर भित्र बाकसमा राखेको पाँच तोला सुनको गरगहना र नगद रु ३० हजार चोरी भएको छ ।’
आफुहरु असार ३० गते घर छोडेर उपचारको लागि भारततर्फ गएको सुनाईन् । उपचार गराएर चौधौं दिनमा शनिबार घर फर्किदा चोरी भएको थाहा भयो । यस अवधिमा चोरी कुन दिन भएको एकिन छैन । ‘बाकसमा राखेको गरगहना र नगद चोरी भएको छ,’उनले भनिन्,‘कपडा, पासपोर्ट र पोतेलगायत अन्य सामान कोठाभरि छितारेको अवस्थामा थियो ।’
आठ वर्ष खाडी मुलुकको उच्च तापक्रममा पसिना बगाएर खाईनखाइ जोडेको धनमाल चोरी भएको नरेश प्रकाश मियाँले बताए । प्रहरीले सुक्ष्म अनुसन्धान गरि चोरलाई कानुनी दायरामा ल्याउन उनको माग छ ।
घरको ढोकामा लगाएको तल्चा सरियाले फुटालेर चोर घरमा पसेको देखिएको छ । चोरी भएको जानकारी पाउनसाथ घटनास्थलमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले बताए । ‘पाँच जनासंग सोधपुछ भईरहेको छ,’डिएसपी अर्यालले भने,‘त्यसैगरि चोरले छोएको सम्भावित स्थानको निसान ल्याएर अनुसन्धान भईरहेको छ ।’