बर्दिया, साउन १५ (फरकसमाचार)/ पछिल्लो समयमा खुल्ला सिमामा लागु औषध ओसार पसार बढ्दो छ । जिल्लाको भारतसंग ८३ किलोमिटर खुल्ला सिमाना छ । खुल्ला सिमामा हुने लागु औषध ओसार पसार र चोरी पैठारी रोक्न सशस्त्र प्रहरीले चासो देखाएको छ । जिल्ला र जिल्ला बाहेकका युवाहरु लागु औषध सेवन गर्न सिमावर्ती भारतीय बजार पुग्ने गरेको व्यापक गुनासोपछि सशस्त्र प्रहरीले सिमामा कडाई गरेको छ ।
राज्यलाई दिर्घकालीन असर पार्ने लागु औषध नियन्त्रणका लागि सिमामा सशस्त्र प्रहरीले कडाई गरेपछि लागु औषध कारोबारी र सेवनकर्ता निरुत्साहित भएका छन् । सशस्त्र प्रहरीले सिमामा निगरानी बढाउँदा लागु औषधका सेवनकर्ता धमाधम पक्राउ परिरहेका छन् । सिमित स्रोतसाधनको उपस्थितीमा सशस्त्र प्रहरीले सिमामा कडाई गर्दा लागु औषध सेवनकर्ताको चहल पहलमा कमी आएको सिमावर्ती क्षेत्रका सर्वसाधारणले बताउँछन् ।
बढैयाताल गाउँपालिका–२ फुटाह स्थितबाट लागु औषधसहित एक जनालाई सशस्त्र प्रहरीले सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–११ लोक नगरका २१ वर्षिय प्रकाश चौधरी छन् । भारतबाट नेपाल तर्फ चौधरी शंकास्पद रुपमा आउदै थिए । सशस्त्र प्रहरीले नियन्त्रणमा लिई चेकजाँच गर्दा ६ ग्राम लागु औषध ब्राउन सुगर फेला परेको छ । चौधरीको साथबाट सामसुङ कम्पनीको मोबाईल एक थान, सोही कम्पनीको ट्याब एक थान र रु ३ सय ५० बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सोही स्थानबाट गत शनिबार बाँके खजुरा गाउँपालिका–६ का २४ वर्षिय गणेश परियारलाई ४ सय १० मिलिग्राम लागु औषध ब्राउन सुगरसहित सशस्त्र प्रहरीले नियन्त्रणमा लिई नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो । गत असार ३१ गते बाँसगढी नगरपालिकाका अबराज खाँ र सिजन पौडेललाई ६ सय ७० मिलिग्राम लागु औषध ब्राउन सुगरसहित नियन्त्रणमा लिई नेपाल प्रहरीलाई बुझाएको थियो ।
त्यसैगरि गत आर्थिक वर्ष सशस्त्र प्रहरीले सिमानाकाबाट २८ किलो ९ सय ३० ग्राम चरेश र १६ दशमलव ९२ ग्राम ब्राउन सुगर बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ३१ नंम्बर गणको तथ्यांकले पुष्टि गर्छ ।