बर्दिया,साउन १७(फरकसमाचार)/ अब यात्रुले घरमै बसेर रोजेको गाडीमा रोजेको सिट अनलाईन एपबाट बुकिङ्ग गर्न सकिने सेवा ल्याईएको छ । बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालीले यात्रुको सहजताको लागि विद्युतिय माध्यमद्वारा अनलाईन टिकट बुकिङ्ग एप सेवा संचालनमा ल्याईएको हो ।
बुधबार प्रालीद्वारा आयोजित पत्रकार सम्मेलनमा बिहीबार देखि अनलाईन एपबाट टिकट बुकिङ्ग गर्न सकिने जनाईएको छ । मोबाईलको प्ले स्टोरमा बर्दिया कृष्णसार यातायात सर्च गरि लोगोसहितको एप डाउनलोड गरि सिट बुकिङ्ग गर्न सकिन्छ । सिटको शुल्क खल्ती, आईएमई पे, प्रभु पे, माई पे र फोनपे माध्यमबाट अनलाईन भुक्तानी गर्न सकिने छ ।
प्रविधिमैत्री र आम यात्रुको गुनासोलाई मध्यनजर गरि विद्युतिय माध्यमद्वारा टिकट बुकिङ्ग एप सेवा विस्तार गरिएको बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालीका अध्यक्ष रवि मल्लले बताए । ‘अब यात्रुहरुले घरमै बसेर रोजेको गाडीको चाहेको सिट सुरक्षित गर्न सकिनेछन्,’अध्यक्ष मल्लले भने,‘अनलाईन एपबाट टिकट बुकिङ्ग सेवा जिल्लाको लागि पहिलो हो ।’
संचालनमा ल्याएको एपलाई सल्लाह सुझाव अनुसार थप सुधार गर्दै जाने सुनाए । विगत वर्षमा चार्डपर्वको बेला टिकटको लागि लामो लाईन लाग्नु पर्ने, सिट नमिल्ने र भिडभाड हुनेलगायतका समस्याले यात्रुहरुलाई सास्ती भोग्नु परेको थियो । प्रालीले अनलाईन एप संचालनमा ल्याएपछि त्यस्ता समस्या हट्ने अध्यक्ष मल्लले विश्वास व्यक्त गरे ।
प्रालीले संचालनमा ल्याएको आफ्नै एपबाट टिकट बुकिङ्ग सेवाको कन्ट्रोल कार्यालय काठमाडौंमा रहेको बर्दिया कृष्णसार यातायात व्यवसायी प्रालीका संरक्षक शम्भु प्रसाद रिजालले बताए । ‘बर्दिया जिल्लाको सवालमा विभिन्न काउन्टर भएपनि मनोटोरिङ्ग प्रधान कार्यालय गुलरियाबाट हुनेछ,’ संरक्षक रिजालले भने,‘एप चलाउन नजान्नेले काउन्टरका कर्मचारीको सम्पर्कमा आए उनीहरुले कार्यालयमा समन्वय गरि टिकट काट्न मद्दत गर्नेछन् ।’ हाम्रो समितिको गाडी चलेको ठाउँको लागि देशको जहाँबाट पनि सिट बुकिङ्ग गर्न सकिनेछ । यो एपको माध्यमबाट यात्रुले गाडी आफैले छान्न मिल्ने, सिट आफैले रोक्न मिल्ने र शुल्क पनि आफै तिर्न मिल्ने सुविधा छ ।
हाम्रो प्रालीबाट संचालन भएका पुरानो गाडीको स्तर सुधार गरेका छौं । राम्रो अवस्थाका गाडी मात्र चलाएका छौं । त्यसैगरि चार जनासम्म सिटमा सुतेर काठमाडौंसम्म यात्रा गर्न सक्ने बस चाडैं संचालनमा ल्याउने संरक्षक रिजालले जनाए ।