बर्दिया,साउन २० (फरकसमाचार)/ पछिल्लो समय समस्याग्रस्त वा बिरामी पाटे बाघको बर्दिया राष्ट्रिय निकुञ्ज भर्ती केन्द्र बन्दै छ । निकुञ्जमा अहिले बिरामी बाघको संख्या चार पुगिसकेको छ । एक दिन विराएर ७ किलो मासु खाने बाघको संरक्षण गर्न निकुञ्ज प्रशासनलाई चुनौती बनेको छ । यसअघि निकुञ्जको खोरमा राखिएको बाघको मृत्यु भईसकेको छ ।
खोरमा रहेका चार वटा बाघको स्वास्थ्य अवस्था गम्भिर रहेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोकरामले बताए । ‘बेहोस पारेर ल्याईने बाघ विरामी बाघ हुन’उनी भन्छन्,‘निकुञ्जको खोर भित्र स्वस्थ्य खाना दिईन्छ, बाहिर भन्दा अलि बढि बाँच्छ ।’ उनका अनुसार एउटा बाघको सरदर आयू ८ देखि १२ वर्ष हो । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारीमा नियन्त्रण लिएको बाघको अवस्था कमजोर रहेको उनले खुलाए । बाघको नङ र खोर खुईलिसकेको छ ।
ड्रोनको सहायताले पत्ता लगाइएको पाटेबाघलाई लठ््याउने प्रविधि (डार्ट) बाट नियन्त्रणमा लिएर बर्दिया ल्याइएको छ । त्यस बाघलाई खोरमा राखिएको छ । घाँस काटिरहेको अवस्थामा स्थानीय २६ वर्षीया हीरादेवी शाहको ज्यान लिएको उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा राखिएको छ । नियन्त्रणमा लिइएको पाटेबाघ १२ वर्षको भाले हो ।
बाघको एउटा दाँत हल्लिएको, अन्य दाँत खिइएका, नङ्ग्रा भाँचिएका, पञ्जा, खुट्टा कमजोर, ढाडमा घाउ भएको एउटा खुट्टाको घाउमा किरा परेको निकुञ्जका पशु चिकित्सक आयुष महर्जनले बताए । घटनास्थल क्षेत्र सीमावर्ती भारतीय जङ्गल नजिक रहेकाले बिरामी बाघ उतैबाट आएको हुन सक्ने अनुमान गरिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका खोरमा ६ वटा समस्याग्रस्त पाटेबाघ राख्न सक्ने क्षमता छ । यहाँ तीन वटा बाघ बिरामी छन् । आर्थिक अभावका कारण पर्याप्त मासु खुवाउन नसकिएको गुनासो उनको छ । बाघको सरसफाइ, खुला ठाउँ, उपचार, अनुगमनमा पनि समस्या छ ।