छात्रालाई शैक्षिक सामाग्री वितरण
मङ्गलबार, साउन २२, २०८१ मा प्रकाशित

बर्दिया,साउन २२(फरकसमाचार)/ कक्षा दशमा अध्ययनरत छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संघिय सांसद अब्दुल खानले छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । जनमत पार्टीद्वारा सोमबार आयोजित ‘चेली सम्मान’ कार्यक्रममा छात्राहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराईएको हो । गरिब तथा अतिविपन्न छात्राहरुलाई सांसद खानले शैक्षिक सामाग्री उपलब्ध गराएका छन् ।

सांसद खानको आर्थिक सहयोगमा जिल्लाका दश वटा सामुदायिक विद्यालयका १ सय ७ जना छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको जनमत पार्टी बर्दियका प्रवक्ता राम दुलारे (विपिन)सोनकारले बताए । ‘रु एक लाख २८ हजार ४ सयको लागतमा शैक्षिक सामाग्री वितरण गरिएको छ,’प्रवक्ता सोनकारले भने,‘छात्राहरुलाई टेनसेट, कलम र कापी उपलब्ध गराईएको छ ।’

गत प्रकाशित एसइइको नतिजा हेरेर आफ्नो गृह जिल्लाका दश विद्यालयका छात्रालाई शैक्षिक सामाग्री वितरण गर्ने योजना बनाएको जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा संघिय सांसद अब्दुल खानले बताए । ‘हामीले एसइइका ५० प्रतिशत विद्यार्थी पनि पास गराउन सकेनौं,’ सांसद खानले भने,‘वास्तवमा शिक्षामा हामी कति पछाडि रहेको एसइइको नतिजाले देखाएको छ ।’

‘यो थोरै सहयोगले छात्रा विद्यार्थीहरुलाई केही सघाँउ पु¥याउनेछ,’सांसद खानले भने,‘जनतासंग भोट लिएर जितेर काठमाडौं बस्नु राजनीति होइन, यहाँ देखिएका समग्र समस्यालाई उत्थान गर्न सक्नुपर्छ ।’ गरिब विद्यार्थीहरुको सधैं साथमा रहने सांसद खानले धारणा व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय