बर्दिया,भाद्र १२(फरकसमाचार)/ गुलरिया नगरपालिकाको सम्पुर्ण सहयोगमा विज्ञान समूहको कक्षा तथा विज्ञान प्रयोगशालाको उद्घाटन भएको छ । गुलरिया नगरपालिकाको सहयोगमा गुलरिया नगरपालिका–६ स्थित श्री बगलामुखी राधाकृष्ण थारु माविमा विज्ञान समूहको मंगलबार उद्घाटन भएको हो ।
जिल्लामा सामुदायिक विद्यालयमा नरहेको शुद्ध विज्ञान समूहबाट कक्षा ११ र १२ बगलामुखी माविले अध्यापन गराउने भएको छ । यस अघि विद्यार्थीले महंगो शुल्क तिरेर जिल्ला बाहिर पढ्न बाध्य थिए । अब गुलरियाको बगलामुखी माविले नगरको सहयोगमा निःशुल्क रुपमा विज्ञान समूहतर्फ कक्षा ११ मा ६ जनाको भर्ना लिई अध्यापन गराउने तयारीमा छ ।
विज्ञान समूहको कक्षा तथा विज्ञान प्रयोगशालाको उद्घाटन गर्दै निःशुल्क रुपमा पढाउन गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले बताए । ‘विद्यार्थीबाट प्रयोगशालाको लागि कुनै शुल्क नलिन विद्यालयलाई अनुरोध छ,’नगर प्रमुख यादवले भने,‘विज्ञान समूहको लागि आवश्यक सम्पुर्ण खर्च नगरले व्यहोर्छ ।’ गत वर्ष देखि गुलरिया नगरपालिकाले कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको सुनाए । पढ्ने इच्छा भएका र कापी कलम किन्न नसक्ने वास्तविक गरिब बच्चालाई आफुले पढाउने नगर प्रमुख यादवले उद्घोष गरे । त्यस्ता बच्चाले वडाको सिफारिस लिएर आउन अनुरोध गरे ।
विद्यार्थीहरुको पढाईको लागि सबै चिज उपलब्ध गराउने नगर प्रमुख यादवले बताए । ‘तपाईहरुले आफ्नो अभिभावकहरुसंग जसरी यो चिज चाहियो भन्नुहुन्छ, त्यसैगरि म पनि तपाईहरुको अभिभावक जस्तै हो,’नगर प्रमुख यादवले विद्यार्थीहरुलाई भने,‘पढाई सम्बन्धि केही जरुरत भएमा भन्न सक्नुहुन्छ ।’ ‘कक्षा १० पास गरेर हुने खानेहरुका बच्चाहरु बाहिर काठमाडौं पढ्न जान्छन्,’नगर प्रमुख यादवले भने,‘तर काठमाडौं भन्दा राम्रो शिक्षा यही दिनुस्,आर्थिक व्यवस्थाको लागि गुलरिया नगरपालिका खडा छ ।’
गुलरिया नगरपालिकाको रु ६ लाखको सहयोगमा विज्ञान प्रयोगशालाको लागि आवश्यक सम्पुर्ण सामाग्री आएको श्री बगलामुखी राधाकृष्ण थारु माविका प्रधानाध्यापक मतिराम शर्माले बताए । ‘विज्ञान प्रयोगशालामा २ सय ३९ प्रकारका सामाग्री छन्,’प्रधानाध्यापक शर्माले भने,‘विज्ञान समूहको लागि चार जना पार्ट टाईम शिक्षक हायर गरेका छौं, अब बिज्ञान पढ्ने इच्छुक विद्यार्थीहरु बाहिर धाउन पर्दैन ।’
लुम्बिनी प्रदेश सरकारको रु ६३ लाखको लागतमा विद्यालयमा ४ कोठाको प्रयोगशाला भवन निर्माण भएको प्रधानाध्यपक शर्माले जानकारी दिए ।
विज्ञान समूहको कक्षा तथा विज्ञान प्रयोगशालाको उद्घाटन नगर प्रमुख मुक्तिनाथ यादवले गरेका थिए । प्रयोगशाला उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदलु लोध, सदस्य लवकुश यादव, शिक्षक, विद्यार्थी र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।