बर्दिया,भाद्र १८ (फरकसमाचार) / लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले जनताले प्रत्यक्ष सुशासनको अनुभूति गर्ने गरी काम गर्ने बताएका छन् । आफू मुख्यमन्त्रीमा नियूक्ति भएको सोमबार ३९औं दिनसम्म नीतिगत रुपमा निर्णय गरी सुशासन र पारदर्शिताको क्षेत्रमा जनताले अनुभूति गर्ने गरी काम गरेको बताएका हुन् ।
प्रेस चौतारी नेपाल बर्दिया शाखाले भुरिगाउँमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले मुख्यमन्त्री तथा मन्त्रीहरुले पालना गर्नु पर्ने आचार संहिता निर्माण गरी कार्यान्वयनमा ल्याएको समेत सुनाए । बर्दिया जिल्लाको विकासको सन्दर्भमा संचारकर्मीहरुसंग साक्षात्कार गर्दै मुख्यमन्त्री आचार्यले बर्दियाको समग्र विकासका लागि लुम्बिनी प्रदेश सरकारले पुंजीगत तर्फ १ अर्ब ६२ करोड रुपैया विनियोजन गरेको जानकारी दिए ।
बर्दिया जिल्लामा समस्याको रुपमा रहेको मानव बन्यजन्तु द्वन्द्व ब्यवस्थापनका लागि आरसिसि वाल निर्माण गरिने कार्यलाई प्राथमिकतामा राखिएको भन्दै बर्दिया जिल्लाको पर्यापर्यटन प्रबद्र्धन गर्नुका साथै बर्दिया जिल्लालाई कर्णाली प्रदेशसंग जोड्न भूरिगाउँ तेलपानी सडक निर्माणका लागि आफूले काम गर्ने विश्वास ब्यक्त गरे ।
नेकपा एमाले बर्दियाले जिल्ला कमिटि सदस्यहरुका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा समेत मुख्यमन्त्री चेतनारायण आचार्यले प्रशिक्षण दिने कार्यक्रम रहेको नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष शालिकराम अधिकारीले जानकारी दिए ।