बर्दिया,भाद्र २४(फरकसमाचार)/ ताराताल छोटी भन्सार कार्यालयमा चिनीको भन्सारमा राजापुर भन्सार कार्यालयका प्रमुख धनबहादुर शाहीले रोक लगाउँदा राजश्व चुहावट भईरहेको खुलेको छ । भारतको सीमामा रहेको उक्त भन्सार कार्यालय घरायसी काम काजका लागि नेपाल भित्रिने सामानमा भन्सार कार्यालयले राजश्व असुल गरेपनि केहि समय देखि चिनिको भन्सार संकलनमा रोक लगाएपछि राजश्ज चुहावट भईरहेको पाईएको हो ।
राजापुर भन्सार प्रमुख शाहीको निर्देशनमा चिनिको भन्सार गर्न रोकिएपछि सो क्षेत्रमा चिनीको तस्करी बढेको स्थानीयले गुनासो गरेका छन् । भन्सार प्रमुख शाहीको आदेशमा चिनीको भन्सार गरिदैन तर, चिनी खुलेआम नेपाल भित्रिरहेको व्यापक गुनासो छ । उक्त क्षेत्रबाट राती चिनी तस्करी हुने गरेको सिमावर्ती क्षेत्रका स्थानीयले बताउँछन् । ‘चिनीको भन्सारमा लगाएपछि तस्करी बढेको छ,’एक स्थानीयले भने,‘राती बोराका बोरा चिनी तस्करी भईरहेको छ ।’ प्रमुख शाहीले चिनीको भन्सारमा रोक लगाउँदा राजश्व चुहावट भईरहेको कर्मचारी स्रोत बताउँछ ।
यस्तै गुलरिया स्थित भन्सार कार्यालबाट तरकारीको भन्सार नगरिदाँ राजश्व छलि भईरहेको छ । सीमावर्तीमा नक्कलि किसानले भारतबाट तरकारी खुलेआम भित्राएपनि भन्सार संकलन हुन सकेको छैन । किसानको कार्डको भरमा भारतमा सजिलै तरिकाले तरकारी नेपाल भित्रिरहेको छ । बिषादि प्रयोग भएका तरकारी खुलेआम भन्सारको बाटो हुदै नेपाल भित्रिए पनि भन्सार कार्यालय कर्मचारी कामबिहिन जस्तै बनेका छन् ।
ताराताल छोटी भन्सारमा चिनीको भन्सारमा रोकिएको विषयमा थप जानकारीको लागि प्रमुख शाहीसंग फोन सम्पर्क गर्दा आफन्त बितेर सर आइतबार घर गएको सुचना अधिकारी राम कुमार बुढा मगरले बताए । ‘जिल्लाबाट अनुगमन टोली जादाँ छोटी भन्सार कार्यालयबाट धेरै चिनीको भन्सार भएको व्यवसायीहरुले गुनासो गरेका थिए,’सुचना अधिकारी मगरले भने,‘त्यसपछि हाकिम सावको आदेशमा चिनीको भन्सार रोकिएको हो ।’ थप कुरा आफुलाई जानकारी नभएको उनी बताउँछन् । जनशक्ति अभावको कारणले ताराताल छोटी भन्सार कार्यालयमा एक जना कार्यालय सहयोगी र एक जना भन्सार काट्ने सहयोगि रहेको सुचना अधिकारी बुढा मगरले जनाए ।
ताराताल चल्ती छोटी भन्सार कार्यालय सहयोगीको भरमा चलिरहेको छ । उक्त क्षेत्रमा राजश्व चुहावट भईरहेको आम सर्वसाधारणको व्यापाक गुनासो छ । उक्त भन्सारबाट दैनिक पाँच देखि छ सयसम्म राजश्व उठ्ने गरेको रेर्कडमा उल्लेख छ । द्वन्द्वका बेला बिस्थापित भएका नेपाल र भारतका सीमावर्ती क्षेत्रका छोटी भन्सार चुस्त दुरुस्त राख्न नसक्दा भन्सार चुहावटमा बृद्धि भईरहेको छ ।