वर्षात भएपछि किसान हर्षित
शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित

बर्दिया,भाद्र २८(फरकसमाचार)/ लामो समयपछिको वर्षातले किसानहरुको अनुहारमा खुसी झल्किएको छ । लामो समय देखि वर्षात नहुँदा किसानले लगाएको बाली सुक्ने अवस्थामा पुगेको थियो ।

लगाएको धान, माकैलगायत बर्खे तरकारी बाली सुक्ने डरले किसानहरु चिन्तित देखिएका थिए । त्यसैगरि अत्यधिक गर्मी पनि महसुस भईरहेको थियो । तर बुधबार देखि सुरु भएको वर्षातले किसानहरु हर्षित भएका छन् भने गर्मी पनि घटेको महसुस भएको छ ।

लामो समय देखि वर्षात नहुँदा बलौटे माटोमा लगाएको मम्फली(बदाम) सुक्ने अवस्थामा पुगेको गुलरिया नगरपालिका–७ का धनेश लोनियाले बताए । ‘लामो समय वर्षात नहुँदा मम्फली हुदैन भनेर चिन्ता थियो,’उनले भने,‘तर अब वर्षात भएको छ, सुक्न लागेको मम्फली सप्रिने आश पलाएको छ ।’

यसपाली धान लगाउन पनि ढिलो भएको गुलरिया नगरपालिका–८ का रमेश लोधले बताए । ‘ढिलो लगाएको धान समय समयमा पानी नपाउँदा चाहे जस्तो सप्रियको थिएन,’लोधले भने,‘धानको बाला निस्किने बेला वर्षात नहुँदा अधिकांश किसान चिन्तामा थिए ।’ अब भएको वर्षातले धानलगायत अन्य बालीलाई हुर्किन सहजता मिल्ने र किसानको चिन्ता पनि घट्ने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर