‘बर्दिया अस्पतालमा जनशक्तिको अभाव’
आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित

बर्दिया,भाद्र ३०(फरकसमाचार)/ अस्पतालमा जनशक्तिको अभाव खड्किएको बर्दिया अस्पतालका वरिष्ठ मेसु डा.सुभाष पाण्डेयले बताएका छन् । आर्थिक वर्ष २०८०/०८१ को वार्षिक समिक्षा गोष्ठीमा शुक्रबार वरिष्ठ मेसु डा.पाण्डेयले यस्तो बताएका हुन् । अस्पतालमा दरबन्दीको अवस्था दयनीय छ ।

स्वीकृत दरबन्दी अनुसार जनशक्तिको पदपुर्ति नभएको वरिष्ठ मेसु डा.पाण्डेयले बताए । ‘अस्पतालमा भएको विशेषज्ञ जनशक्तिको अन्यत्र सरुवा भएको छ,’वरिष्ठ मेसु डा.पाण्डेयले भने,‘गत वर्षसम्म अस्पतालमा रहेका दुई जना प्रसूति तथा स्त्री रोग विशेषज्ञ अन्त गएको अवस्था छ ।’ उक्त जनशक्तिको पदपूर्ति भएको छैन ।

अन्य डाक्टर सापहरुले जसोतसो सेवा दिईरहेको अवस्था छ । त्यसैगरि अस्पतालमा रहेका बालरोग विशेषज्ञको भर्खरै सरुवा भएको छ तर,उहाँको ठाउँमा कोही नआएको अवस्था छ । अस्पतालमा विशेषज्ञ जनशक्तिको तत्काल व्यवस्थापन गर्न मेसु डा.पाण्डेयले माग गरे ।

त्यसैगरि अस्पतालमा उपकरणको कमी रहेको छ । प्रदेश सरकारले अस्पतालको उपकरणको लागि बजेट नछुट्याएको मेसु डा.पाण्डेले बताए । ‘जसकारण अस्पतालमा उपकरणको पनि अभाव छ,’डा.पाण्डेले भने,‘अभावमा काम गर्दा दुर्घटना हुने सम्भावना पनि बढी हुन्छ ।’ जनशक्ति अभावको बेला बिदाको दिनमा पनि ओपिडी चलाउने कुरा भईरहेको छ त्यो कसरी सम्भव रहने सुनाए ।

त्यसैगरि राज्यले स्वास्थ्यकर्मीलाई हेपेको सुनाए । अन्य कार्यालयमा कर्मचारीले अन्य भत्ता र सेवा सुविधा पाउँछन् तर जोखिममा रही अहोरात्र खटिने सोही दर्जाका स्वास्थ्यकर्मीलाई त्यो सेवा सुविधाको व्यवस्था छैन । राम्रो सेवा सुविधा नहुँदा राम्रा जनशक्ति अस्पतालमा टिकाउन समस्या भईरहेकोसमेत वरिष्ठ मेसु डा.पाण्डेयले खुलाए ।

शिक्षा र स्वास्थ्यलाई दिनुपर्ने ध्यान राज्यले दिन नसकेको संघिय सांसद संजय कुमार गौतमले बताए । ‘अस्पतालमा विभिन्न समस्या रहेका छन्,’संघिय सांसद गौतमले भने,‘स्वास्थ्यकर्मीहरुसंग बसेर छलफल गरेर समस्या समाधानको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेछु ।’

अस्पतालको तीन वर्षको तथ्यांक अनुसार सेवाग्राहीको संख्या प्रत्येक वर्ष बढ्दै गएको पुष्टि हुन्छ । आर्थिक वर्ष २०७८/०७९ मा १ लाख ७ हजार ४ सय ७८, आव २०७९/०८० मा १ लाख १५ हजार ७ सय १८ र आव २०८०/०८१ मा १ लाख १९ हजार ४ सय ३२ जना सेवाग्राहीले अस्पतालमा सेवा लिएको बर्दिया अस्पतालका सुचना अधिकारी केशव न्यौपानेले जनाए । वार्षिक समिक्षा गोष्ठी कार्यक्रमको संचालन अस्पतालका नायव सुब्बा नारायण पराजुलीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय