कर्म कल्चर
विपत्तिले हरेकपल्ट हाम्रो परीक्षा लिएको हुन्छ। र, हाम्रो हकमा किन हो कुन्नि, सधैं हामीलाई फेल गरिदिन्छ। २०५० को यस्तै त्रासद् बाढी-पहिरो होस् कि २०७२ को भुइँचालो — यी दुई घटना लोकतन्त्रकालका खुला सञ्चार र समाज भएकै बेलाका समकालीन विपद् हुन्। त्यसपछि पनि हामी बदलिएनौं, म त भन्छु झन् बिग्रियौं।
अब त हामी आफैले पनि आत्मालोचना गर्न सक्नुपर्छ। आफैलाई पनि सोध्न सक्नुपर्छ। आखिर हामी विपद्को भाषा किन बुझ्न सक्दैनौं? सक्ने भए किन बुझाउन सक्दैनौं? सकेको भए किन बुझाएनौं? हामी एकोहोरो विकासका पक्षमा उभियौं। के विकास हो र के होइन भन्नेमा हामीले बहसै गरेनौं। आज हामी जनता रोएको समाचार छाप्न विवश छौं। जनताले यसरी रूनुपर्ने दिन आउने छ भनेर हामीले खुला समाजलाई खोई कहिले तरंगित गर्यौं?
विपत्तिले पत्रकारलाई खोज्दै आउने होइन। पत्रकारले विपत्ति खोज्ने हुन्। जति अप्रत्यासित, उति भव्य समाचार प्रत्यासित हुन्छ। जति नसोचिएको घटना होस्, उति ठूलो समाचार बन्छ। हामीलाई आकस्मिकता मनपर्छ। घटनापूर्ण समाचारका पाठक धेरै हुन्छन्। हरबखत के, छिनछिनमा थप जानकारीको लालसाले उनीहरू मोबाइल स्क्रोल गर्छन्, नभए च्यानल फेर्छन्। यस्ता समाचार सजिलै उत्पादन हुन्छन्, सजिलै खपत पनि। नबिक्ने केही हुन्न। बासी रहनै पाउँदैन। मिडिया व्यवसायका लागि विपत्ति बडादसैं नै हो!
पत्रकारलाई विपत्ति सधैं प्रिय हुन्छ। नहोस् पनि किन? समाचारका लागि आवश्यक खजाना सजिलै उपलब्ध हुन्छन्।केही मेहनत अवश्य गर्नुपर्ने हुन्छ, कहिले त जोखिम नै मोल्नुपर्ने होला, तर त्यो पनि समाचार संकलनको आधारभूत पक्ष हो। तिनको साहस सम्मानित हुन्छ। पत्रकार घुमाइफिराइ समाचारमा आफ्नोबारे घुसाउन सिपालु हुन्छन् नै। सञ्चार संस्थाले नै आफ्ना सञ्चारकर्मीको बढाइँ गर्दा आफ्नो व्यवसाय प्रवर्द्धन भएको ठान्ने मौका पाउँछन्।
विपत्तिको विशेषता सर्वसाधारणलाई उद्वेलित बनाउने तत्वहरू पर्याप्त हुनु हो। यस्ता घटनामा नाटकीय पक्ष अटेसमटेस हुन्छन्। अकाल मृत्यु मात्र होइन, परिवारमा वियोग मात्र पनि होइन, परिवारै नाश भएकासमेत हुन्छन्। घरबारविहीन हुने, बास उजाडिने, विस्थापित हुने, बिचल्ली पर्ने धेरै हुन्छन्। यसरी ज्यादा प्रभावित बनेकाहरूको भुक्तमानी अरूका लागि रोमाञ्चक सामग्री हुन्छ। आफूलाई नपरेको, तर पर्न सक्ने सोचेर पढ्नेहरूका लागि त्यस्ता समाचार झल्झली आँखामा नाच्छ।
समाजका निमुखा नै प्राय: प्रभावित भएका हुन्छन्। तिनलाई असहाय पक्षका रूपमा चित्रण गर्न कुनै बल गर्नु पर्दैन। जो निर्धो, उही असहाय भन्ने धारणा समाजमा बनिबनाउ हुँदा उनीहरूलाई पीडित पक्षका रूपमा अर्थ्याउन सजिलो हुन्छ। अझ रूढीका दृष्टिले सोच्नेहरूका लागि तिनको नियति यही रहेछ भन्ने आग्रह थोपर्न झन् सजिलो हुन्छ।
जति ठूला घटना, उति ठूला समाचार; जति ठूला पूर्वाग्रह, उति ठूला अनुमोदन हुने कारण विपत्तिले देखिनेभन्दा नदेखिने क्षति पुर्याउने खतरा हुन्छ। त्यो खतरा के कारण झन् हुन्छ भने, जे देखिँदैन त्यो समाचार बन्दैन। विपत्ति बेला बहादुरीका उदाहरण पाउन सकिन्छ। यसपटक किन अपवाद हुन्थ्यो? नागरिक स्तरमा कसैले फाल हालेर अरूलाई बचाइदिन्छ। त्यो वीरताको घटनाले हाम्रो नायकप्रिय समाजका सोचविचार र मूल्यमान्यता टिकाइराख्न मलजल गर्छ। कस्ता मान्यता भने, जस्तो- समयले नायक उत्पन्न गरिदिन्छ, भगवानले हात थापिदिन्छन्!
समाचारलाई थप रोचक बनाउन वीरगाथाको माला उनिन्छ। सर्वसाधारणका भोगाइ र संघर्ष फेरि पनि नायकप्रिय समाचार र समाजको मनोविज्ञानभित्र गौण बनिदिन्छ। साधारण कुरा उल्लेखनीय हुँदैनन्, असाधारण कुराको थिचोमिचोमा परिदिन्छन्। फेरि पनि सर्वसाधारणका कथा ओझेल पर्छन्। तिनकाबारे लेखिए, देखिए पनि समाजका आँखामा पर्दैनन्। आँखामा पर्ने गरी लेखाउन र देखाउन धेरै लगानी, मेहनत र प्रतिभा चाहिन्छ, जो हत्तपत्त किन कोही खर्च गरोस्?
विपत्तिले समाजमा नयाँ प्रश्न जन्माउने तागत राख्नुपर्ने हो, तर राज्य सञ्चालकहरूको अक्षमताका कारण हामी पुरानै प्रश्नमा फर्किन पुग्छौं। अहिले पनि त्यही हो। प्रधानमन्त्री विदेश छन्, जुन भ्रमणको खास अर्थ छैन। सरकार आफै विपत्ति आउन सक्छ भन्छ, उसकै अगुवा त्यसको छनक नहुने गरी नियमित भ्रमणमा मग्न हुन्छन्।
यसपटक दसैंसम्म झरीको सम्भावना छ र विपद् पनि पर्नसक्छ भन्ने ख्याल भएको सरकारले त्यसअनुसार आफूलाई सतर्क नराख्नु जनतामा आक्रोश थप्ने कारण बन्यो। प्रधानमन्त्रीले कार्यवाहक दिएका वरिष्ठ मन्त्री पनि के कम? प्रधानमन्त्री नै विपत्तिको घनघोर सूचना पाएर पनि कुनै प्रस्ट कार्यसूची नभएका लक्जेम्बर्गका समकक्षी भेट्न उता व्यग्र थिए भने यता कार्यवाहकलाई केको उग्र तातो लागोस्?
खराब पक्ष सधैं सजिलै देखाउन सकिने हुनाले मिडियालाई गहिरा प्रश्न गर्ने आवश्यकता पर्दैन। सरकार निरीह भइदिन्छ। प्रश्न सामना गर्न सक्ने गरी उभिएकै हुँदैन। अनि शोक, उद्धार र राहततिर जनतालाई भुलाउन चलाखी गरिहाल्छ।समाचारहरूमा केही दिन रौनक आउँछ। क्षतिको विवरण र लगत संकलन गर्दागर्दै बाढी, भेल, बर्षाद भुल्ने र भुलाउने गरी समाचारका शीर्षक फेरिन पुग्दै गरेको जनतालाई मेसो हुँदैन। उनलाई पनि त भुल्न नयाँ खुराक चाहिन्छ।
यो विपत्ति प्राकृतिक भन्ने कि प्राविधिक भन्ने छिनोफानो गर्न नभ्याउँदै देशको ध्यान अन्त गइसक्छ। देशको ध्यान भन्ने केही हुँदैन। जनताको ध्यानाकर्षण भन्ने पनि केही हुँदैन। मिडियाको ध्यान अर्को कुन सजिलो विषयले खिच्यो, देशको ध्यान उतै जाने हो।
अब त झन् सामाजिक सञ्जालले सामाजिक मनोविज्ञान दर्शाउनेभन्दा पनि डोर्याउने अवस्था बनेकाले मिडिया पनि कि त्यसको पछिपछि, कि अघिअघि हुने दबाबमा छ। त्यसो हुँदा जटिल विषयको उठान, गहकिला प्रश्नको उत्खनन् प्राथमिकतामा पर्न गाह्रो छ। नीतिगत समाचारको सर्वथा अभाव हुने कारण अरू के त?
हाम्रा सहरहरू कस्ता बनेका छन् र कस्ता बन्दैछन्, के हामीलाई थाहा छैन? नदी, खोलाको सीमा जहिल्यै घटेको हुन्छ, सडकको मात्र मापदण्ड बढेको हुन्छ। किन? जबकि हामीलाई थाहा छ, सहर-बजारतिर माटोको पानी सोस्ने क्षमता घटेको हुन्छ। जति विकसित भनिएको सहर हुन्छ, उति उसको माटो ढलान भइसकेको हुन्छ। हामीलाई थाहा छ, माटो छ भने पानी तल सोसिन्छ, छैन भने सीधा सोझिन्छ।
काठमाडौं उपत्यका हेर्यौं भने अब माटो बिस्तारै गमलामा सीमित हुन बेर छैन! त्यो गमला पनि माटोको साटो सेरामिक, अझ अब त सिमेन्टको चलन भइसकेको छ। हामी आफ्नो बानीबेहोरा माटोबाट तर्किने, पन्छिने, मन्सिने र तर्सिने बनाउन थालिसकेका छौं। हाम्रा पदाधिकारीहरू गमलामा पानी हालेर वातावरण दिवस मनाएको हेर्छौं। अझ तिनले तपाईं-हाम्रा हाते क्यामरामा टिलिक्क टल्किन पन्जासमेत लगाएका हुन्छन्। कसैले त मास्कसमेत मुखमा उन्छन्। मानौं पानी होइन, तरल बिख हालेका हुन्।
प्रकृतिबाट हुत्तिँदै हिँडेको विकासे सरकारले दैनिक विनाश निम्त्याइरहेको हामी रमिता हेर्छौं, प्रश्न गर्दैनौं। आज नदीहरू कतै सकल बग्न पाउँदैनन्, हाम्रा प्रश्नहरूका छाल छैनन्, भए पनि विकासको वेगले छलिसकेको छ। कुनै पनि सडक जैविक इञ्जिनियरिङ गरिएको छैन, फुसफुस माटो झरिरहेको पहरो के पहिरोमुनि हामी दैनिक गुडिरहेका हुन्छौं। अस्तिताक पृथ्वी राजमार्गमा म त्यसरी नै गुडेको थिएँ। माटो खस्दै थियो, कति यात्रु चिच्याइरहे, चालकले रोकेनन्। घटना भएन, उनको बहादुरी देखियो।
मैले चढेको यातायात सेवाकै अर्को बस अर्को दिन त्यही खण्डमा फस्यो। आधा पुरियो। चालकले होइन, पहिरोले रोकिदियो। त्यसै कमला पहाड, उसमाथि न सतह, न भूमिगत इञ्जिनियरिङ गरिएको हुन्छ, न माटो रोक्ने प्रबन्ध। हामी निर्धक्क विकासपथमा गुडिरहेका हुन्छौं।
हामीलाई सडक चाहिन्छ, तर माटो अडिएको बाटो हुनुपर्छ हामी भन्दैनौं। हामीलाई सहर चाहिन्छ, तर खेत मासेर बनाउन पाइँदैन हामी लेख्दैनौं। पानी पुनर्भरणको व्यवस्था के हो हामी प्रश्न गर्दैनौं। हामी विज्ञान बुझेर विकास अर्थ्याउन खोज्दैनौं। हामी अर्थतन्त्र भनिएको आँकडाका आधारमा विकास बुझ्न खोज्छौं।
हामीलाई विकास चाहिन्छ, तर प्रकृति मासेर होइन, खोस्रेको पनि पुरेर क्षतिपूर्ति गरेर मात्र हुनुपर्छ हामी बोल्दैनौं। अनि छलफल गर्दैनौं। म यो लेख तयार गर्नुअघि गुडेको बसबाट देख्दैछु — हाल धमाधम विस्तार भइरहेको मुग्लिङ-पोखरा सडकका लागि नाक ताछिएका पहाडहरूबाट माटो फुसफुस बगिरहेको छ। सडक दोब्बर ठूलो हुँदैछ खेतैखेतबीच। तल खोला उर्लेर आउँदैछ। नदीमा मिसिएपछि यो खोला शान्त हुन पाउने छैन, दोभाननेर ठूलो जलविद्युत परियोजना बन्दैछ।
बन्नुपर्छ, तर त्यसको इञ्जिनियरिङ के कस्तो छ, हामीले सार्वजनिक प्रश्नहरू गर्न सकेका छैनौं।हाम्रा प्रश्नहरू बलिया नभएसम्म विपत्तिले हामीलाई सधैं असफल नै बनाएर छाड्ने छ।सेतोपाटीबाट साभार