बर्दियामा सात महिनामा १ सय ३८ फरार कसुरदार पक्राउ
सोमबार, असोज १४, २०८१ मा प्रकाशित

बर्दिया,असोज १४/सात महिनामा १ सय ३८ जना फरार कसुरदारलाई प्रहरीले पक्राउ गरेको छ । गत फागुन देखि हालसम्म विभिन्न कसुरमा फरार रहेका कसुरदारलाई पक्राउ प्रहरीले कारवाही गरेको हो । जिल्ला प्रहरी कार्यालय गुलरियाद्वारा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सात महिनाको कार्य प्रगति विवरण सार्वजनिक गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाको ५५औं एसपीको रुपमा कार्यरत प्रबिण धितालको सरुवा भएको छ । एसपी धितालले गत फागुनको दोस्रो साता देखि बर्दिया प्रहरीको नेतृत्व सम्हालेका थिए । एसपी धितालको नेतृत्वमा भएको कार्य सम्पादनको विवरण सार्वजनिक गरिएको छ ।

एसपी धितालको नेतृत्वमा सात महिनामा १ सय ३८ जना विभिन्न कसुरका फरार व्यक्ति पक्राउ परेको तथ्यांक जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । त्यसैगरि १ सय वर्ष ८ महिना कैद सजाय भुक्तान र १ करोड ५२ लाख १० हजार ३ सय ७३ बराबरको जरिवाना असुल गरिएको तथ्यांक छ । त्यसैगरि भन्सार नियन्त्रणमा ३० जना मानिस नियन्त्रणमा लिई अन्दाजी रु १ करोड २२ लाख २ हजार ७ सय ४२ राजश्व र गाडीमोटर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयको रेकर्डले पुष्टि गर्छ ।

एसपी धितालको पहलमा गुलरिया नगरपालिकाले संवेदनशील गुलरिया बजारको मुख्य २४ ठाउँमा सिसिटिभि क्यामरा जडान भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण डाँगीले जनाए । बजार क्षेत्रमा जडान गरिएको सिसिटिभिले अपराधिक गतिविधि नियाल्न सहज भईरहेको प्रहरी निरीक्षक डाँगीले सुनाए ।

सात महिनामा प्रहरीले विभिन्न किसिमका ६ हजार ६ सय ९१ सवारी साधनलाई कारवाही गरि रु ४८ लाख ६४ हजार राजश्व संकलन गरेको छ । २ सय १६ जना हराएका महिला, बालबालिका तथा जेष्ठ नागरिकको प्रहरीले खोजतलास गरि १ सय ९७ जनालाई फेला पारेको र १९ जनाको खोजी भईरहेको छ ।

सात महिनामा जबरजस्ती करणी मुद्दामा ९ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरि जिल्ला अदालतको आदेशले कारागार चलान गरिएको एसपी प्रविण धितालले बताए । ‘अघिल्लो साता जबरजस्ती करणी गरेका आफ्नै प्रहरी कर्मचारीलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरि कारवाही प्रक्रिया अघि बढेको छ,’एसपी धितालले भने,‘प्रहरी संगठन यस्तो संगठन हो गल्ती गरे आफ्नै स्टाफलाई छोडदैन ।’ सात महिनाको बर्दिया बसाई सुखद रहेको एसपी धितालले भनाई राखे ।

एसपी धितालको काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रुम रानी पोखरीमा सरुवा भएको छ । बर्दियाका नयाँ प्रहरी प्रमुख एसपी केदार खनाल आज सोमबार प्रहरी कार्यालयमा हाजिर हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर