बर्दिया,असोज १५(फरकसमाचार)/ दशैं नजिकिएसंगै सिमानाकामा फाटफुट रुपमा तस्करीका झलक देखिन थालेको छ । गोप्य रुपमा भारतबाट नेपालमा भित्राउँने सामान मोटरसाईकलमा भन्सार छलेर हुइकाउँन गरेको दृश्य देखिने गरेको छ । गुलरिया बजार दक्षिण तर्फ भन्सार छलेर सामान भित्राउँदा स्थानीय छक्क परिरहेको सुनाए ।
चाडपर्व नजिकिएसंगै भारतबाट अबैध रुपमा तरकारीलगायत विभिन्न सामान धमाधम भित्रिरहेको देखिन्छ । ६ वटा छोटी भन्सारमा नहुँदा यस्ता सामान चोरी तस्करी गरी भित्रने भएपनि केहि दिन यता सदरमुकाम छेउछाउँमा मोटरसाईकल र साईकलबाट भित्रि बाटो दिउँसैमा सामान नेपालतर्फ भित्रिरहेको छ ।
गुलरिया नगरपालिका–८ आशापुर हुँदै ईट्टा भट्टाको बाटो दिनहुँ दर्जनौ मोटरसाइकल र साइकलमा अबैध सामान भित्रिरहेको लेटेस्ट भिडियो फरक समाचारलाई प्राप्त भएको छ । सिमानाकाबाट करिब दुई तीन किलोमिटर भित्र छोटी भन्सार कार्यालय गुलरिया छ । तर,भन्सार नपुग्दै अन्य बाटो प्रयोग गरि अबैध सामान बजारसम्म आईरहेको छ । प्राप्त भिडियोमा गुलरिया छोटी भन्सार कार्यालय नजिकै रहेको आशापुर गाउँ हुदै पश्चिम तर्फ ईट्टा भट्टाको बाटो प्रयोग गरि मोटरसाइकल र साइकलमा अबैध सामान लोड गरि बजारसम्म भित्रिएको स्पष्ट रुपमा देख्न सकिन्छ ।
सिमावर्ती क्षेत्रमा नेपाल प्रहरीका चौकी र सशस्त्र प्रहरीको बिओपी छन् । सीमानाका खटिएका प्रहरीले सोधखोज नगर्दा नेपाली सिमानामा तस्करीको जगजगी बढ्दो छ । २४औं घण्टा सुरक्षाकर्मीको निगरानी हुन्छ तर कसरी दिनदहाडै अबैध सामान बजारसम्म आईरहेको प्रश्नमा सुरक्षाकर्मी प्रलोभन परिरहेको स्थानीयको आरोप छ ।
यसरी अबैध सामान भित्रिदाँ राजश्व चुहावट भईरहेको छ । सिमावर्ती क्षेत्रका नक्कली किसानले पाएको किसान कार्डले वास्तविक किसान समस्यामा परेका छन् । किसान कार्डको नाममा भारतीय तरकारी बजार भित्रिदा नेपाली किसान मर्कामा परेका छन् । भारतीय तरकारी चोर बाटो धमाधम भित्रिएको तर,वास्तविक नेपाली किसानले बजारसम्म तरकारी ल्याउन प्रहरी र भन्सारका कर्मचारीको केरकारमा पर्ने गरेको गुनासो छ ।
यसो त प्रहरीले सामान भन्सार कार्यालय बुझाउँने गरेको भन्सारको रेकर्डमा उल्लेख छ । तर कतिपय अवस्थामा किन प्रहरी मुखदर्शक बनिरहेको बिषय गम्भीर छ । प्रहरी प्रमुख प्रबिण धितालको सोमबार दिउँस बिदाई भएको छ भने अर्का प्रहरी प्रमुख केदार खनालले मंगलबार देखि जिम्मेवारीमा रहने प्रहरी स्रोतले जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको निर्देशनमा तीन महिना लागु औषध नियन्त्रण रणनीतिक कार्ययोजना अख्तियार छ । सचेतना अभियान लगायतका भन्सार छलेर नेपाल भित्रने सामान र अन्य अपराधिक घटना रोक्न सीमावर्तीमा खटिएका प्रहरीलाई प्रजिअ शर्माको स्पष्ट निर्देशन छ ।