बर्दिया,असोज १७(फरकसमाचार)/ दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरु संगठिन नहुँदा अनेकौं समस्या झेल्नु परेको श्रमिकहरुले बताएका छन् । कमैया महिला जागरण र राधाकृष्ण थारु जनसेवा केन्द्रको संयुक्त आयोजना र एक्सनएड नेपालसंगको सहकार्य तथा स्थानीय तहहरुसंगको समन्वयमा भएको जिल्ला स्तरीय श्रमिक सम्मेलनमा बुधबार श्रमिकहरुले यस्तो बताएका हुन् ।
श्रमिकहरु एकजुट नहुँदा तोकिएको भन्दा ज्याला कम पाउने र ठगिने जस्ता समस्या देखिएका छन् । श्रमिकहरु संगठिन नहुुँदा आफ्ना मागको लागि स्थानीय, प्रदेश र संघिय सरकारको ध्यानाकर्षण गर्न नसकेको जिल्ला स्तरीय श्रमिक सम्मेलनले निचोड निकालेको छ ।
श्रमिकहरुको कुनै पहिचान कार्ड नहुदाँ सास्ती भोग्नु परेको राजापुर नगरपालिका–२ की गिता कुमारी थारुले बताईन् । हामी श्रमिकले दैनिक ज्याला मजदुरी गरेर जिविकोपार्जन गरिरहेको गिता कुमारी थारुले बताईन् । ‘तर हामीसंग ज्याला मजदुरी गरिरहेको कुनै ठोस प्रमाण छैन,’थारुले भनिन्,‘जसकारण हामी ठगिन बाध्य भएका छौं ।’ ज्याला मजदुरी गर्ने श्रमिकहरुको जिल्ला दर रेट ६ सय ६५ भएपनि ५ सयमा दैनिक काम गर्न बाध्य रहेको सुनाईन । त्यसैगरि मजदुरी गर्ने ठाउँमा हाजिर गर्ने व्यवस्था नहुदाँ हामी श्रमिकहरु ठगिए पनि कुनै कारवाही गर्न नसकेको दुखेसो पोखिन् । हामी महिला कामदार सुरक्षित नभएको बाँसगढी नगरपालिकाकी लक्ष्मी विकले भनाई राखिन् ।
अन्य जिल्लामा काम गर्दा गर्दै कोरोना महामारी सुरु भएको बारबर्दियाकी दिपा परियारले बताईन् । ‘निर्माण व्यवसायीले गाडीमा हामीलाई घर पु¥यायो,’उनले भनिन्,‘निर्माण व्यवसायीले बैंक खुलेपछि हिसाब किताब गरेर रकम दिन्छु भनेका थिए ।’ तर अझैसम्म ५ लाख बढी रकम नदिएको अवस्था छ । यतिका दिन देखि धाउँदासमेत रकम नपाएको परियारले सुनाईन् ।
जिल्ला स्तरीय दुई दिने श्रमिक सम्मेलनमा आठ वटै पालिकाका श्रमिक तथा श्रमिक अगुवाहरुको सहभागिता रहेको थियो । आठ वटै पालिकाका श्रमिकहरुको अगुवाईमा ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’मुल नाराका साथ जिल्ला स्तरीय तदर्थ श्रमिक संगठन गठन भएको छ । लौटन चौधरीको संयोजकत्वमा १६ जनाको तदर्थ श्रमिक संगठन गठन भएको कमैया महिला जागरण समाजका कार्यक्रम संयोजक रमेश चौधरीले जानकारी दिए ।
श्रमिकहरुले उठाएको सवालको जवाफ गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसी, गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतम र बाँसगढी नगरपालिकाकी उप–प्रमुख इन्द्रिरा चौधरीले दिएकी थिईन् । श्रमिकहरु संगठित हुँदा स्थानीय तहलाईसमेत काम गर्न सहज हुने कमैया महिला जागरण समाज नेपालकी अध्यक्ष कृष्णी थारुले बताईन् । जिल्ला स्तरीय श्रमिक सम्मेलनका सहभागिले श्रमिकका हकहित, अधिकार र भलाईको कार्य गर्ने पाँच बुँदे घोषणा पत्रमा हस्ताक्षर गरि प्रतिबद्धता जनाएका छन् ।