बर्दिया,असोज २० (फरकसमाचार)/ चाडपर्व नजिकिएसंगै तरकारीको भाउ आकाशिएको छ । चाडपर्वको मुखमा तरकारीको भाउ आकाशिदाँ उपभोक्ता मारमा परेका हुन् । एकाएक तरकारीको मुल्य बढ्दा विपन्न परिवारलाई साँझ बिहान के तरकारी खाने चिन्ता बढेको छ ।
गुलरिया नगरपालिका–७ स्थित शनिबार तरकारी हाट बजारमा भेटिएकी उपभोक्ता लक्ष्मी चौधरीले तरकारीको मुल्य आकाशिएको बताईन् । ‘अस्ति भन्दा तरकारीको मुल्य ह्वातै बढेर छोइनसक्नु छ,’उनले भनिन्,‘यस्तै हो भने अब तरकारी किनेर खान सकिदैन ।’ हुनेले त किनेर खालान् तर नहुने विपन्न परिवारलाई साह्रै गाह्रो भएको सुनाईन् ।
टमाटर रु २ सय प्रति किलोग्राम, भिन्डी रु ६०, बोडी रु १ सय ६०, खुर्सानी रु १ सय २०, आलु रु एक सयको डेढ किलोग्राम, करेला रु ६०, भन्टा रु ४०, परवर रु ९०, प्याज रु १ सय २० र लसुन रु ३ सय प्रति किलोग्राम पुगेको छ ।
अघिल्ला हाट बजार भन्दा तरकारीको मूल्य अस्वभाविक रुपमा वृद्धि भएको अर्का उपभोक्ता रामु यादवले बताए ।
‘मुल्य तोक्ने सम्बन्धित निकायले हो, कि तरकारी व्यवसायीले आफुखुसी तरकारीको मुल्य बढाएका छन्,’उनले भने,‘चाडपर्वको बेला सहुलियत दर हुनुपर्ने ठाउँमा चर्को हुनु दुखद हो ।’ यसरी भएको मुल्य वृद्धिको सम्बन्धित निकायले तत्काल अनुगमन गर्न जरुरी रहेको उनले सुनाए ।