गुणस्तरी शिक्षाको लागि योजना बनाएर अघि बढ्ने : मन्त्री जन्मजय तिमिल्सिना
बिहिबार, कार्तिक १५, २०८१ मा प्रकाशित

बर्दिया,कार्तिक १५(फरकसमाचार)/ लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयका मन्त्री जन्मजय तिमिल्सिनाले गुणस्तरी शिक्षाको लागि योजना बनाएर अघि बढ्ने बताएका छन् । प्रेस युनियन जिल्ला शाखा बर्दियाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री तिमिल्सिनाले बिहीबार यस्तो बताएका हुन् ।

लुम्बिनी प्रदेशको एसइइ नतिजा एकदमै जीर्ण रहेको मन्त्री तिमिल्सिनाले बताए । ‘यसलाई कसरी सपार्ने र शिक्षालाई कसरी गुणस्तरीय बनाउने पहिलो प्राथमिकता हुन्छ,’मन्त्री तिमिल्सिनाले भने,‘शिक्षाको गुणस्तरमा वृद्धि, व्यवसायीक शिक्षा र शिक्षालाई प्राविधिकसंग जोड्न सकेनौं भने समाज रुपान्तरण गर्न सकिदैन ।’ अहिलेको प्रविधि अन्तर्राष्ट्रिय प्रविधिसंग मेल खाने हुनुपर्छ । तर, त्यो अवस्थामा हामी छैनौ । त्यसकारण शिक्षा ऐन संशोधन गरेर हुन्छ कि कसरी हुन्छ ध्यान दिन जरुरी रहेको मन्त्री तिमिल्सिनाले जिकिर गरे ।

मन्त्री भएर पहिलो पटक गृह जिल्ला आएका मन्त्री तिमिल्सिनाले सामाजिक विकास मन्त्रालयको सिमित स्रोत साधनले शिर निउँराउने काम नगर्ने सुनाए । लुम्बिनी प्रदेश शिक्षा मन्त्रालयमा धेरै विकृति देखिएको सुनाए । ‘लुम्बिनी प्रदेशमा जम्मा ४ हजार ७ सय विद्यालय छन्,’मन्त्री तिमिल्सिनाले भने,‘ प्रदेश संरचना तयार भएको सात वर्ष भयो ।’तर २ हजार ८ सय ४ विद्यालयले अहिलेसम्म प्रदेश सरकार रहेको आभास गरेर एक रुपियाँको सहयोग पाएका छैनन् ।

ती विद्यालयहरु जिर्ण छन् कि, विद्यार्थी छन् कि छैनन्, संचालनको अवस्थामा छन् कि छैनन् पहिलो प्राथमिकताका खोजीनीति गर्ने मन्त्री तिमिल्सिनाले सुनाए । आवश्यक छ भने त्यसका लागि बजेट व्यवस्थापन गर्नु हाम्रो दायित्व हो । त्यसैगरि विपन्न वर्गलाई प्राथमिकता राखेर प्रदेशमा स्वयमसेवक परिचालन गर्ने पहिलो निर्णय गरेको मन्त्री तिमिल्सिनाले जानकारी दिए ।

जिल्लामा लागु औषधको बिगबिगी रहेको छ । लागु औषध न्युनिकरणको लागि जिल्लाका विद्यालयमा विशेष किसिमको सचेतनामुलक कार्यक्रम राख्न मन्त्री तिमिल्सिनालाई प्रेस युनियन जिल्ला शाखा बर्दियाका अध्यक्ष दीपकलाल श्रेष्ठले आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय