लुम्बिनीका मुख्यमन्त्री कात्तिक अन्तिम साता चीन जाँदै
मङ्गलबार, कार्तिक २०, २०८१ मा प्रकाशित

बुटवल,कार्तिक २० / लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य कात्तिक अन्तिम साता एक हप्ता चीन भ्रमणमा जाने भएका छन् । चीनको सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन मुख्यमन्त्री आचार्य ७ सदस्यीय प्रतिनिधिमण्डलसहित जान लागेका हुन् ।

मंगलबार बसेको लुम्बिनी मन्त्रिपरिषद बैठकले मुख्यमन्त्रीको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न नोभेम्बर ११-१३ (कात्तिक २६-२८) मा अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्यसँगै आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थसहितको टोली जान लागेको हो ।

यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबीच पारस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको मुख्यमन्त्री आचार्यले बताए । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुईपक्षीय सहयोग र सहकार्यको बारेमा समेत छलफल हुने उनले बताए ।

२०७६ सालमा लुम्बिनी र सिचुआन प्रान्तबीच भगिनी सम्बन्ध कायम गरिएको थियो । त्यतिबेला कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।अनलाइनखबरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय