अपराधिक गतिविधि रोक्न व्यापक छलफल
बुधबार, कार्तिक २१, २०८१ मा प्रकाशित

बर्दिया,कार्तिक २१(फरकसमाचार)/ अपराधिक गतिविधि रोक्न इलाका प्रहरी कार्यालय मैनापोखरले सरोकारवालासंग छलफल गरेको छ । नागरिक र प्रहरी बिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरि इलाका प्रहरी कार्यालय मैनापोखरले मंगलबार व्यापक छलफल गरेको हो ।

बढैयाताल गाउँपालिका क्षेत्रमा शान्ति सुरक्षा, खुल्ला सिमाबाट हुने अबैध ओसार पसार, चोरी लुटपाट, लागुऔषध ओसारपसार तथा सेबन, चेलिबेटी बेचबिखन, ट्राफिक ब्यस्थापन लगायतका समस्याहरु रहेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेश तेली साहुले बताए । ‘यस्ता समस्याहरु प्रहरीले मात्र न्युनिकरण गर्न सक्दैन,’प्रहरी निरीक्षक साहुले भने,‘यस्ता समस्या न्युनिकरणको लागि आम नागरिक र प्रहरी बिच सहकार्य हुन जरुरी छ ।’ यस कार्यमा सबैले सहयोग गर्ने अपेक्षा लिएको प्रहरी निरीक्षक साहुले भनाई राखे ।

ट्राफिक प्रहरीको लागि भवन नभएको र भाडामा कोठा लिई काम गर्दा निकै समस्या रहेको अस्थायी ट्राफिक पोष्टका प्रमुख प्रहरी नायव निरीक्षक मोहन चन्दले बताए । बढैयाताल गाउँपालिकाले ट्राफिक कार्यालयको भवनको व्यवस्थापन गरिदिए काम गर्न सहज हुने चन्दले धारणा व्यक्त गरे ।

प्रहरीले जनअपेक्षा अनुरुप कामकाज गर्नुपर्ने कुरामा बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले भनाई राखेका थिए । अन्तरक्रिया कार्यक्रम प्रहरी निरीक्षक राजेश तेलि साहुको सभापतित्व र गाउँ पालिकाका अध्यक्ष हिमालय त्रिपाठिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियोे । कार्यक्रममा स्थानीय सरोकारवाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय