बर्दिया,कार्तिक २२(फरकसमाचार)/ गुलरियामा साँस्कृतिक कार्यक्रमसहित भव्य रुपमा छठ पर्व मनाउने तयारी छ । गुलरिया नगरपालिकाको दुई घाटमा आज बिहीबार साँझ भव्य रुपमा छठ पर्व मनाउने तयारी छ । दुई वटै घाटमा चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहने जनाईएको छ । गुलरिया नगरपालिका–७ सर्जुनदी र वडा नंम्बर ८ भादा स्थित छठ पर्व मनाउने तयारी छ । दुई वटै घाटमा आज बिहीबार साँझ देखि शुक्रबार बिहानसम्म भजन, क्रितन र झाँकीसहित साँस्कृतिक कार्यक्रम हुनेछ ।
गुलरिया नगरपालिका–७ स्थित छठ घाटमा निर्माण गरिएको मन्दिरको आज बिहीबार प्राण प्रतिष्ठा र मुर्ति स्थापित गरिने गुलरिया नगरपालिका–७ का वडा अध्यक्ष मनोज कुमार यादवले बताए । ‘ब्रतालुले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि साँस्कृतिक कार्यक्रम सुरु हुनेछ,’अध्यक्ष यादवले भने,‘भारतको देवरिया र बनारसबाट भजन गायकगायिका र लखनउबाट झाँकीको लागि कलाकार ल्याईएको छ ।’
गुलरिया नगरपालिका–८ भादा घाटमा बिहीबार दिउँसो सूर्य देव र छठ्ठी माताको मुर्ति राख्ने तयारी रहेको श्री मिथिला साँस्कृतिक संरक्षण प्रतिष्ठान गुलरियाका उपाध्यक्ष तथा छठ पूजा समितिका अध्यक्ष युगल किशोर मण्डलले बताए । ‘घाट सजावट, मन्च र लाईट व्यवस्थापनको सम्पुर्ण काम भईसकेको छ,’अध्यक्ष मण्डलले भने,‘भादा घाटमा ब्रतालुले सन्ध्याकालीन सूर्यको अर्घ दिए लगत्तै साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म धार्मिक नृत्य र झाँकी प्रस्तुत हुनेछ ।’ भादा घाटमा साँस्कृतिक कार्यक्रमको लागि भारतको पलियाबाट कलाकार ल्याईएको छ । शुक्रबार बिहान उदाउँदो सूर्यको अर्घपछि मुर्ति बिर्सजन र प्रसाद वितरण कार्यक्रम पश्चात छठ पर्व समापन हुने मण्डलले जनाए ।
सन्तान प्राप्ती, पारिवारिक सुख समृद्धि, धन प्राप्ती एवंम् मनोकामना पुरा हुने विश्वासका साथ छठ पर्व मनाउने गरेको भादा छठ घाट व्यवस्थापन समितिका सदस्य धिरेन्द्र मिश्रले बताए ।
छठ पर्व चार दिनसम्म मनाईन्छ । नहाए–खाएसँगै मंगलबार देखि छठ पर्व सुरु भएको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्रण गर्छन् । आज बिहीबार श्रद्धालुले सूर्यलाई सन्ध्याकालीन र शुक्रबार बिहान उदाउँदो सूर्यको अर्घ दिन्छन् । यसपछि मात्र व्रतालुले व्रत विसर्जन गरेसँगै छठपर्वको पनि औपचारिक समापन हुन्छ ।