बर्दिया,कार्तिक २३/ ‘त्यो समय कहिले फर्किएर नआओस् भन्ने लाग्छ, जब अतीतका ती दिनहरू सम्झन्छु् ती यादले झन पीडा दिन्छ । आँशु पुछ्दै बाँसगढी नगरपालिका –२ लखनाकी २१ वर्षीया निरा थारुले भनिन, ‘मेरो जिन्दगीमा कहिले निको नहुने घाउ लागेको छ । मेरो घाउको उपचार गर्ने कुनै औषधी बनेको छैन् । पीडाको अर्थ भोग्नेलाई मात्र थाहा हुँदो रहेछ । देख्ने र सुन्नेहरूले केवल सान्त्वना दिन मात्र सक्छन् । तर सान्त्वनाले पीडामा मलमको काम गर्दैन रहेछ ।’
द्वन्द्वले दिएकोे पीडाका बारेमा निराले भनेको कुरा सामान्य अभिव्यक्ति होइन । यी अभिव्यक्ति भित्रको कथा बेग्लै छ । सर्घष बेग्लै छ । दुःखहरू बेग्लै छ । मनमा चल्ने अन्र्तद्वन्द्व बेग्लै छ । घरबाट कपाल काट्छु र बिरामी दाईको लागि औषधी लिएर आउँछु, भनेर बुवा जानु भएको रहेछ । बुवा बेपत्ता भएको पनि २१ वर्ष पुरा भएको उनले बताइन् । सेनाले २०५८ साल चैत्र १० गते २१ वर्षीय सन्तराम थारूलाई बेपत्ता पारेको थियो ।
उनले भनिन, ‘बुवा बेपत्ता हुदाँ आमाको पेटमा म तीन महिनाको गर्भमा रहेकी थिए रे । म जान्ने बुझ्ने भएपछि आमाले भनेर थाहा पाएकी हुँ । बुवा बेपत्ता भएको २१ वर्षको हुदाँ समेत राज्यले बुवाको न लाश देखाउन सक्यो न ज्यान । म पनि कि बुवाको ‘सास देउ की लास देउ’ भन्दै आमासँग आन्दोलनमा हिड्ने गर्छु ।’
मैले बुवाको मुख देख्न पाइन न बुवाले मेरो । बुवा बेपत्ता भएपछि घरको जिम्मेवारी आमाको काँधमा आइपर्यो । जसोतसो आमाले दाई र मलाई हुर्काउनु भयो,उनले भनिन् । आर्थिक अवस्था कमजोर भएकोले हामीले खासै पढ्न पाएनौ । दाई कमाउन इन्डिया जानू भएको छ । आमा र म घरमा छौ । मैले कक्षा १० सम्म मात्र पढ्न सके । म अहिले गाउँको पसलमा सिलाईकटाईको काम गर्छु । बुवाको आशमा आमा बसेको देख्दा चिन्ता लागेर आउँछ । बुवा नहुदाँ परिवारले अनेक समस्या सामाना गर्नु परेको छ । घरमा मूल देउता पुज्ने, चाडपर्व समेत राम्रोसँग नमाएको वर्षौ भएको छ । परिवारको अन्य सदस्यले संस्कार अनुसारले दाहसंस्कार गर्नुपर्छ भन्छन् । तर आमा मान्नुहुन्न । ’
निराको जस्तै बुवा बेपत्ता पारिएकी बासँगढी नगरपालिका–७ ककौराकी १९ वर्षीया भावना थारूको कथा पनि पीडादायी छ । भावनाले फोटोमा मात्र बुवा २३ वर्षीय उत्तम थारूलाई देखेकी छन् । तर भावना आफ्नो पीडा आफ्नो व्यथा कसैको सामु देखाउन चाहदिनन् । तर पीडित परिवारले न्याय पाउनु पर्छ भन्दै उनले भनिन्, ‘अरुले देख्ने गरी पीडा देखाएर पो के हुन्छ भन्ने लाग्छ । तर म जस्तै कयौँ बेपत्ता पारिएका व्यक्तिका परिवारका लागि पनि बोल्नुपर्छ भन्ने लाग्छ र कहिलेकाँही बोल्छु ।’
उनले भनिन, ‘बुवा बेपत्ता हुदाँ म २ महिनाको गर्भमा थिए, बुवा बेपत्ता भएको कुरा हजुरबुवा, हजुरआमाले भनेर थाहा पाएकी हुँ । किन, कसले कुन कारणले मेरो बुवालाई बेपत्ता पारेको हो, मलाई थाहा छैन् । तर परिवारबाट तत्कालिन बिद्ध्रोही माओवादीले बेपत्ता पारेको हो भन्ने चाँही सुनेकी छु । ’
नेपाली सेनामा रहेका उत्तम घर बिदामा आएको सयममा २०६० चैत ४ गते बुधबार राती घर नजिकैबाट माओवादीले बेपत्ता पारेका थिए ।
स्नातक तहमा अध्ययनरत भावनाले अघिपछि भन्दा एक्लै ह्ुदाँ बुवाको सम्झना धेरै आउने गरेको बताउँछिन् । उनले भनिन् ‘घरमा एक्लै हुँदा बुवाको धेरै सम्झना आउने गर्छ । तस्विरमा मात्र बुवालाई देखेको थिए । तर कहिलेकाँही बुवा सपनामा आउनु हुन्छ । र मलाई भन्नुहुन्छ ‘छोरी तिमी त ठुली भईसकेकी रैछौ । तर सपना देखिनु भएको बुवा यर्थात र कल्पना अब कहिले आउनु हुन्न भन्ने मलाई थाहा छ ।’
समाज, आफन्त सामाजिक र सांस्कृतिक संस्कार र कानुनी अड्चनका कारण भावनाले बुवाको २०७८ साल चैत्र ३ गते कुशको लास बनाएर थारु परम्परा अनुसार बुवाको काजक्रिया गरेको उनले बताइन् । काजक्रिया गरेपनि बेपत्ता बुवाको वास्तविक अवस्था थाहा पाउने चाहना भावनाको रहेको छ । उनले भनिन, ‘मैले जस्तै पीडा अरुले भोग्न नपरोस् । यस्ता घटना आगामी दिनमा नहोस् । देशमा शान्ति होस् भन्ने कामना र चाहना छ ।’ दशवर्षे सशस्त्र द्वन्द्वको समयमा साविक डेउढाकला गाविस–९ ककौराबाट माओवादीले बेपता पारेका २३ वर्षीय उत्तम थारू र बेलवा गाविस – ४ सन्तराम थारूको अवस्था अझै सार्वजनिक हुन सकेको छैन् ।
भावना र निरा त प्रतिनिधि पात्र हुन् । बर्दिया द्वन्द्वकालमा सबैभन्दा बढी बेपत्ता पारिएको जिल्ला हो । राज्य र विद्रोही दुवै पक्षबाट पारिएका व्यक्तिको संख्या बेपत्ता पारिएको व्यक्तिको छानविन आयोगको तथ्यांक अनुसार बर्दियामा दुई सय ५४ जना रहेको छ । त्यसैगरी बेपत्ता पारिएका व्यक्तिको संख्या द्वन्द्वपीडित समितिका अनुसार दुई सय ४२ जना रहेको द्वन्द्वपीडित समिति कार्यक्रम संयोजक मान बहादुर चौधरीले बताए । बर्दियामा दुई सय २० बेपत्ता भएको अभिलेख रहेको इन्सेक प्रदेश संयोजक भोला महतले बताए ।
आयोगको तथ्याङ्क नै आधिकारिक मान्नुपर्छ :– द्वन्द्वपीडित समिति अध्यक्ष चौधरी
बेपत्ता पारिएका व्यक्तिहरूको तथ्यांक संघ–संस्था अनुसार फरक फरक भएकोले आयोगको तथ्यांक नै आधिकारिक मान्नु पर्ने द्वन्दपीडित समिति बर्दियाका अध्यक्ष भागीराम चौधरीले बताए । उनले भने, ‘द्वन्दकालमा बेपत्ता पारिएका व्यक्ति मध्ये अंधिकाश गाउँका नागरिक रहेका,पहुुँच नभएका सोझा र गरिबहरु बेपत्ता पारिएको छ । शान्तिपूर्ण जनआन्दोलन भएको पनि १९ वर्ष हुन लाग्यो । द्वन्दरत दुबै पक्ष सदनमा छन् ।
अब द्वन्दपीडितहरुको मुद्धा टुङ्ग्रोमा गरि काम गर्न जरुरी छ । संघीय संसद्को दुवै सदनले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक सर्वसम्मतले पारित गरी प्रमाणीकरण समेत भएको अवस्थामा विधेयकलाई इमानदारी पूर्वक कार्यान्वयन गर्न जरुरी रहेको संयोजक चौधरीको माग छ । द्वन्दरत समयमा सरकार पक्ष र तत्कालीन विद्रोही पक्ष माओवादीले शंकाको रुपमा बेपत्ता पार्ने काम गरेको देखिन्छ । बेपत्ता पर्नेहरूमा विपन्न, किसान तथा ग्रामीण शिक्षाको पहुँचमा नभएका व्यक्तिहरू बढी छन् ।
सत्य थाहा पाउने र परिपूरणको ज्ञारेन्टी हुनुपर्छ
अब निरा र भावनाको मुख्य माग भनेको सत्य थाहा पाउने र परिपुरणको माग हो । सरकारले पीडित केन्द्रित न्यायभित्र सत्यतथ्य जान्न पाउने अधिकार र परिपूरण पाउने अधिकारलाई पहिलो प्राथमिकतामा राख्ने दुबैको धारण रहेको छ । बेपत्ता पारिनु भएको बुवाको बारेका सत्य थाहा पाएपछि दोषीलाई सजाय दिने वा माफी दिने भन्ने सजायको लागि कानुनी प्रकृयामा जाने भन्ने पीडितलाई स्वतन्त्रताको समेत दुबैले बताए ।
अब निरा थारु र भावना थारुको एउटै चाहना छ – बेपत्ता परिवारको हैसियतले राज्यले राज्यले परिपूरणको ज्ञारेन्टी गर्ने र द्वन्द पीडितका छोराछोरीलाई स्वास्थ्य शिक्षाका ज्ञारेन्टी हुनुपर्छ ।’
नेपालको संविधानको धारा ४२ (सामाजिक न्यायको हक) उपधारा (५) मा नेपालमा लोकतान्त्रिक परिर्वतनको लागि भएका सङ्घर्षका क्रममा ‘जीवन उत्सर्ग गर्ने सहीद तथा बेपत्ता पारिएका व्यक्तिका परिवार लोकतन्त्रमा यौद्धा द्वन्द्वपीडित, अपाङ्गता भएका व्यक्ति, घाइते तथा पीडितलाई न्याय एवम् उचित सम्मान सम्मानसहित शिक्षा स्वास्थ्य रोजगारी आवास र सामाजिक सुरक्षामा कानुन बमोजिम प्राथमिकताका साथ अवसर पाउने हक हुने व्यवस्था रहे पनि सो अधिकारको अनुभूति पीडितहरुले गर्न पाएको छैनन् । बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ पनि ३ पटक सशोसन भएर प्रमाणित भएपनि पीडितले न्याय पाउन सकेको छैनन् ।
शान्ति सम्झौता भएको १८ वर्ष हु्ँदा समेत बेपत्ताको अवस्था सार्वजनिक हुन नसक्नु दुःखद भएको दुबैको धारणा समेत रहेको छ । बेपत्ता पारिएका व्यक्तिको परिवारले धार्मिक, साँस्कृतिक, सामाजिक र कानुनी जटिलताका कारण पनि कुशको शव बनाएर अन्त्येष्टिसमेत गर्न थालेका छन् ।