चार महिनामा लागु औषधका ३० मुद्दा
सोमबार, कार्तिक २६, २०८१ मा प्रकाशित

बर्दिया,कार्तिक २६(फरकसमाचार)/ चालु आर्थिक वर्षको चार महिनामा लागु औषध अपराध सम्बन्धि ३० वटा मुद्दा दर्ता भएका छन् । चालु आर्थिक वर्ष ०८१/०८२ को हालसम्म लागु औषध अपराधका ३० वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय बर्दियाको तथ्यांकले पुष्टि गर्छ ।

पछिल्लो समय लागु औषध दुव्र्यसनीमा युवाहरु बढी प्रभावित भएको देखिन्छन् । करिब १९ देखि ३० वर्ष उमेर समूहका युवाहरु लागु औषधबाट बढी प्रभावित भएको पाईन्छ । लागु औषध न्युनिकरणको लागि ठोस कदम चालिएन भने युवाहरु लागु औषधको चपेटामा पर्दै जाने आम सर्वसाधारणहरुको भनाई छ ।

लागु औषध अपराध जिल्लाको मुख्य समस्या बन्दै गएको छ । जिल्ला सुरक्षा समितिले लागु औषध न्युनिकरण गर्ने उदेश्यले तीन महिने अभियानसमेत संचालन गरेको छ । उक्त अभियान अन्र्तगत सिमावर्ती क्षेत्रमा लागु औषध रोकथामको लागि व्यापक रुपमा सचेतनामुलक कार्यक्रमहरु संचालन भईरहेको छ । सिमामा खटिएका सुरक्षाकर्मीले कडाई गरेपछि भारतीय सिमावर्ती बजार तर्फ लागु औषध सेवन गर्न जाने युवाहरुको आवागमनमा कमी आएको सिमावर्ती क्षेत्रका सर्वसाधारणहरुको भनाई छ ।

यस अभियानमा प्रहरी प्रशासन मात्र नभई सबैले हातेमालो गर्न जरुरी रहेको उनीहरु बताउँछन् । जिल्लाको ८३ किलोमिटर भारतसंग खुल्ला सिमानाका छ । सिमावर्ती भारतीय बजारमा लागु औषध सजिलै पाईने हुँदा न्युनिकरण गर्न सुरक्षा व्यवस्थालाई कठिनाई भईरहेको छ ।

चालु आर्थिक वर्ष ०८१/०८२ को साउन देखि हालसम्म लागु औषध अपराधका ३० वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय गुलरियाका प्रहरी निरीक्षक कृष्ण डाँगीले बताए । लागु औषध अपराधमा संलग्न ४२ जना व्यक्ति पक्राउ परेको प्रहरी निरीक्षक डाँगीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयको विगत तीन वर्षको रेकर्डले लागु औषधका घटना क्रमशःबढ्दै गएको देखिन्छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार आर्थिक वर्ष ०७८/०७९ मा ३३, आव ०७९/०८० मा ५६ र आव ०८०/०८१ मा १ सय २४ वटा लागु औषध अपराधका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको तथ्यांक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय