जेष्ठ नागरिकलाई सम्मान
मङ्गलबार, कार्तिक २७, २०८१ मा प्रकाशित

बर्दिया,कार्तिक २७/ मधुवन नगरपालिकामा रहेको ताराताल साना किसान कृषि सहकारी संस्था लिमिटेडले आठ जना जेष्ठ नागरिक शेयर सदस्यहरूलाई सम्मान गरेको छ । २७औं वार्षिक साधारण सभाको अवसरमा जेष्ठ नागरिकहरूलाई पोषिलो खाना, दोसल्ला र सम्मानपत्र दिएर सम्मान गरिएको हो ।

सहकारीले ७० बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई हरेक वर्ष सम्मान गर्दै आएको छ । सहकारीमा लामो समय देखि योगदान गर्ने जेष्ठ नागरिकलाई प्रोत्साहन स्वरुप सम्मान गर्दै आएको ताराताल सानाकिसान कृषि सहकारी संस्थाका अध्यक्ष प्र्रेम प्रसाद तिमिल्सिनाले बताए ।

त्यसैगरी एसइइमा उत्कृष्ट अंक ल्याउने चार जना छात्र छात्रालाई सम्मान गरिएको छ । उनीहरूलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको हो । १३ जना उत्कृष्ट कृषक सदस्यहरुलाई पनि प्रमाण पत्र र कृषि सँग सम्बन्धित सामाग्री दिएर सम्मान गरिएको छ । सहकारीले हरेक बर्ष जेष्ठ नागरिक, कृषक र उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गर्दै आएको छ ।

२०५५ सालमा स्थापना भएको सहकारीमा हाल तिन हजार ६ सय ३६ जना शेयर सदस्य रहेका छन् । ४ सय ५९ वटा समुहमा विभाजित रहेका छन् । सहकारीको हाल सम्म शेयर रकम पाँच करोड ९२ लाख ३ हजार तिन सय र निक्षेप रकम ४४ करोड ५५ लाख ९८ हजार ४ सय २९ रुपैयाँ रहेको मुख्य प्रबन्धक डम्बर केसीले बताए ।

साधारण सभामा जगेडा कोष रकम सात करोड ९१ लाख ७९ हजार दुई सय ३८ रुपैयाँ र नाफा दुई करोड ७१ लाख ५१ हजार नौ सय पाँच रुपैयाँ रहेको उनले जनाए । संस्थाको लरर ८९ करोड ६ लाख ७४ हजार ८ सय २७ रुपैयाँ र पाउनु पर्ने व्याज बाँकी ५३ लाख ३७ हजार र असुली दर ९६ प्रतिशत रहेको साधारण सभामा प्रस्तुत गरीएको प्रतिवेदनमा उल्लेख छ ।

उद्घाटन कार्यक्रमका शुभकामना मन्तव्य दिँदै निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य कुलप्रसाद पोखरेलले अरु सहकारीहरू विवादित भइरहेको अवस्थामा यस सहकारीको राम्रो प्रगती हुँदै गएको बताए । सहकारीको सिद्धान्त र नियमअनुसार चलिरहेको हुनाले सहकारी राम्रो सँग चलेको सुनाए । अब सहकारीले शेयर सदस्यको जिवनस्तर उकास्नका लागि पनि महत्वपूर्ण भूमिका खेल्नु पर्ने पोखरेलले भनाई राखे ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था इलाका कार्यालय नेपालगञ्जका शाखा प्रबन्धक विशाल कुमार तुलाधरले गत बर्ष इलाकाका ९६ वटा सहकारी संस्थाहरू मध्ये सर्वोत्कृृष्ट भएको बताए । यस बर्ष ताराताल साना किसान मात्र क प्लस ल्याएर सवोत्कृष्ट भएको बताउँदै राष्ट्रिय स्तरको प्रतिस्पर्धामा जाने सुनाए । साना किसान सहकारीले पुरा गर्नु पर्ने ३५ वटा सुचकांकहरुमा २५ वटा सुचाकांकमा क प्लस, सात वटामा सुधार गर्नुपर्ने र तिन वटामा अत्यन्त कमजोर भएको उनले जनाए ।

आगामी दिनमा सबै सुचकांक पुरा गरी देश मै उत्कृष्ट हुनका लागि शुभकामना दिँदै शेयर सदस्य, सञ्चाल समिति र कर्मचारीको मेहनको फलभएको धारणा व्यक्त गरे । मधुवन नगरपालिकाका नगर प्रमुख तेज बहादुर भाटले जनताको जिवनस्तर उकास्नका लागि सहकारीले ठुलो भुमिका खेलेको बताए । स–साना कामका लागि स–सानो ऋण दिएर सहकारीले व्यवसायीक बनाउँदै गएको छ ।

मधुवन नगरपालिकाले १० लाखको लगानी गरी ४ वटा सहकारी मार्फत सरकारले तोकेको समर्थन मुल्यमा धान खरिद गर्नका लागि अनुदान दिएको छ । १० लाखको लगानीले हाल कृषकहरूको खल्तिमा दुई करोड भन्दा बढि रकम गएको नगर प्रमुख भाटले बताए ।

मधुवन नगरपालिकाका संस्थापक नगर प्रमुख गणेश बहादुर केसीले सहकारीले शेयर सदस्यहरुको जिवनस्तर उकास्नका लागि भुमिका खेल्नु पर्ने बताउँदै साना किसानले ऋण प्रवाह गर्दा लिने गरेको व्याजको दर समायोजना गरी घटाउनु पर्ने बताए ।

साधारण सभाले सहकारी संस्था व्यवस्थापनका लागि १४ वटा कार्यविधि पास गरेको छ भने १५ वटा प्रस्तावमाथि छलफल गर्दै पास गरिएको सहकारीका अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय