बर्दियामा चार महिनामा ७३ सर्पको उद्दार
बिहिबार, कार्तिक २९, २०८१ मा प्रकाशित

बर्दिया,कार्तिक २९(फरकसमाचार)/ डिभिजन वन कार्यालय बर्दियाले चार महिनामा ७३ वटा सर्पको उद्दार गरेको छ । डिभिजन वन कार्यालयले चालु आर्थिक वर्ष ०८१/०८२ को साउन देखि हालसम्म विभिन्न प्रजातिका ७३ वटा सर्पको उद्दार गरेको हो । जाडो मौसम सुरु भएपनि सर्प देखिन छोडेका छैनन् ।

गुलरिया नगरपालिका–१ शंकरबस्ती स्थित पत्रकार कृष्ण प्रसाद भुसालको घरमा मंगलबार साँझ डरलाग्दो गोमन सर्प भेटिएको छ । भेटिएको गोमन सर्पको डिभिजन वन कार्यालयको टोलीले उद्दार गरेको हो । पछिल्लो समयमा सर्पदंशका घटना पनि बढ्दै गएको देखिन्छ । सर्पले टोकेको थाहा नपाउँदा मानिसहरुले ज्यानसमेत गुमाउनु परेको छ । जलवायु परिवर्तनको कारण जुनसुकै मौसममा विषालु सर्प देखिन थालेको अनुमान छ ।

मानव बस्ती वा घरमा भेटिएका सर्पको उद्दारमा डिभिजन वन कार्यालयले चासो देखाएको पाईन्छ । सर्पले गर्दा मानवलाई नोक्सान नपुगोस् भनेर बस्ती वा घरमा सर्प भेटिएको खबर पाउने बित्तिकै डिभिजन वन कार्यालयको टोली उद्दारको लागि दौडिन्छ ।

चालु आर्थिक वर्षको साउन देखि हालसम्म ७३ वटा सर्प उद्दार गरिएको डिभिजन वन कार्यालयका सुचना अधिकारी राम कुमार चौधरीले बताए । ‘४० वटा सर्प विषालु र ३३ वटा अविषालु सर्प चार महिनामा उद्दार गरिएको छ,’सुचना अधिकारी चौधरीले भने,‘विषालु सर्पमा गोमन, करेट, रसल भाइपर र अविषालुमा धामान, पानी सर्प र अजिङ्गर उद्दार गरिएको छ ।’

उद्दार गरिएका सर्पको प्रजाति हेरि सुरक्षित स्थानमा लगेर छोडिन्छ । सर्प बाहेक एउटा मगरगोही र ३ वटा सुनगोहरा उद्दार गरिएको सुचना अधिकारी चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर