एकैदिन गुलरियाका तीन वडा बाल विवाह मुक्त वडा घोषणा
मङ्गलबार, मङि्सर ११, २०८१ मा प्रकाशित

बर्दिया,मंसिर ११(फरकसमाचार) / गुलरिया नगरपालिकाका तीन वटा वडा एकैदिन बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियानका सन्दर्भमा सोमबार आयोजित समारोहमा गुलरियाका तीन वडालाई बाल विवाह मुक्त वडा घोषणा गरिएको हो । गुलरिया नगरपालिका वडा ५, ६ र ७ लाई बाल विवाह मुक्त वडा घोषणा गरिएको छ । यस अघि गुलरिया नगरपालिकाका वडा नंम्बर ४,८ र १२ लाई बाल विवाह मुक्त वडा घोषणा भईसकेको छ ।

बाल विवाह मुक्त वडा घोषणा गर्न आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउने सम्पुर्णलाई गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले धन्यवाद व्यक्त गरेका थिए ।

बाल विवाह सम्बन्धि मुद्दालाई गुलरिया नगरपालिकाले धेरै अगाडि पहिचान गरेको गुलरिया नगरपालिका–६ का वडा अध्यक्ष सुधांशु प्रकाश शर्माले बताए । ‘बाल विवाहको मुद्दालाई कसरी समाधान गर्ने बारेमा नगरमा व्यापक छलफल गरियो,’वडा अध्यक्ष शर्माले भने,‘बाल विवाहका प्रमुख कारक समाजमा रहेका पुराना साँस्कृतिक, गरिबी र शिक्षाको कमीले हुने गरेको हामीले पहिचान गरेका छौं ।’ यी समस्याको समाधानको लागि गुलरिया नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क गरेको छ, आर्थिक विकासका निम्ति किसानलाई बिउबिजन र मोटर वितरणलगायतको कार्यक्रम संचालन गरेको अध्यक्ष शर्माले सुनाए ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान तथा बाल विवाह मुक्त वडा घोषणा समारोहमा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव, उप–प्रमुख सावित्रा गौतम, प्रमुख प्रशासकीय अधिकृति ओमकार शाहलगायत वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

लैङ्गिक हिसां विरुद्धको १६ दिने अभियानको सुरुवाती दिन सोमबार गुलरियामा प्रभात फेरी निकालिएको थियो । प्रभातफेरीमा सरकारी, गैरसरकारी संघसंस्थाका प्रतिनिधि तथा बालबालिकाहरुको सहभागिता रहेको थियो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सफल परौं, बिहेवारी २० वर्ष पारी र बाल विवाह अन्त्य गरौं जस्ता सहभागिहरुले नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर