बर्दिया,मंसिर १२(फरकसमाचार)/ रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड गुलरिया शाखाका कर्मचारीले बिमितको रकम हिनामिना गरेको पाईएको छ । बिमित खेमराज लोनिया नामका बिमितिले इन्स्योरेन्स कार्यालयमा जम्मा गरेको रकम हिनामिना गरेको तथ्य भेटिएको हो । रिलायबल इन्स्योरेन्स गुलरियाकी तत्कालीन शाखा प्रबन्धक पार्वती थारु र सिस्टम हेर्ने कर्मचारी ललिता चौधरीलाई रकम हिनामिना गरेको आरोप छ ।
बिमितले बुझाएको दुई किस्ताको रकम नतिरेर यी दुई कर्मचारीले आफैले हिनामिना गरेको रेकर्डले देखाउँछ ।
किस्ता बुझाएको एक वर्षपछि मात्र बिमितको रकम हिनामिना भएको पत्तो पाएको पिडित रामचन्द्र लोनियाले बताए । सिधासाधा नपढेका सेवाग्राहीलाई शाखाकी प्रबन्धकले नै ठगेपछि सेवाग्राही कानुनी उपचारको लागि प्रशासन कार्यालय पुगेका छन् । बुझाएको किस्ता जम्मा नभएको थाहा पाएपछि शाखामा लिखित निवेदन दिदाँपनि कुनै वास्ता नगरेको पिडित गुलरिया नगरपालिका–११ का लोनियाको भनाई छ ।
लोनियाका अनुसार रिलायबल इन्स्योरेन्स गुलरिया शाखाका हालको प्रबन्धक मनोज गुप्ताले मैले गरेको होइन मलाई थाहा छैन भनेर वेवास्ता गर्दा प्रशासनसम्म पुग्न परेको सुनाए । ‘मलाई पढ्न आउँदै,’लोनियाले भने,‘मलाई बिमाका कर्मचारीले ठगेर विगत एक वर्ष देखि दौडाईरहेका छन् ।’
पिडितले निवेदन लिएर आएपछि रिलायबल इन्स्योरेन्स गुलरियाका हालका शाखा प्रबन्धक मनोज गुप्ता र तत्काली कर्मचारी पार्वती थारुलाई बिहीबार प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतले झिकाएका थिए । प्रशासनको चर्को दबाबपछि हिनामिना गर्ने कर्मचारीबाट असुल उपर भएको पिडित रामचन्द्रको भनाई छ ।
रामचन्द्र लोनियाले आफ्नो छोरा खेमराज लोनियाको ३ लाखको बिमा ई.स.२०२० डिसेम्बर २७ मा बिमा गराएका थिए । उक्त बिमाको अवधि ई.सं.२०४० सम्म थियो । बिमा प्रारम्भ भएको मिति ई.सं. २०२० डिसेम्बर २७ मा लोनियाले पहिलो किस्ता १४ हजार ९ सय ५५ तिरको देखिन्छ । त्यसैगरि ई.सं. २०२१ डिसेम्बर २७ मा सोही रकमको दोस्रो किस्ता बुझाएको रेकर्ड छ ।
ई.सं. २०२२ डिसेम्बर २७ तेस्रो किस्ता बुझाउँन आउँदा रिलायबल इन्स्योरेन्स गुलरिया शाखाकी तत्कालीन सिस्टम हेर्ने कर्मचारी बढैयाताल गाउँपालिका–९ मयुरबस्तीकी ललिता चौधरीले सिस्टम चलेको छैन । भौचर पछि म घर आउने बेला ल्याईदिन्छु भनेको पिडितले सुनाए । त्यतिबेला पढ्न नजान्ने लोनिया सहजै घर फर्किएका थिए । केही दिनपछि ललिता चौधरीलाई फोन सम्पर्क गर्दा तपाईको किस्ता जम्मा भईसकेको छ, भौचर मसंग छ पछि दिन्छु भनेर जवाफ दिएको लोनिया बताउँछन् ।
ई.सं.२०२३ डिसेम्बर २७ मा चौथो किस्ता जम्मा नभएपछि तेस्रो किस्ता हिनामिना भएको तत्कालिन प्रबन्धक पार्वती थारुबाट खुलेको पिडित बताउँछन् । चौथो किस्ता जम्मा नभएपछि पार्वतिले सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुपर्ने हो तर गरिएन । चौथो किस्ता पार्वतिले हिनामिना गरेको नयाँ प्रबन्धक मनोज गुप्ताबाट खुलेको हो । हेड अफिस कुरा गरेर हिनामिना भएको तेस्रो र चौथौ किस्ता वापतको रकम ललिता र पार्वतीबाट असुल गरि जम्मा गरिएको प्रबन्धक गुप्ताले जानकारी दिए ।