बर्दिया, मंसिर १४ (फरकसमाचार)/ चितुवाको आक्रमणबाट दुई जना घाईते भएका छन् । मधुवन नगरपालिका–८ का अन्दाजी ४५ वर्षिय मोहम्मद अली र ३५ वर्षिय ममता तिरुवा बिहीबार घाईते भएका हुन् । घाईते मध्ये पुरुषलाई उपचारको लागि नेपालगंज रिफर गरिएको छ भने महिलाको बर्दिया अस्पतालमा उपचार भईरहेको छ । महिलाको ढाँड र हातमा चोट छ भने पुरुषको हात,खुट्टा र टाउँकोमा चोट लागेको जनाईएको छ ।
मधुवन नगरपालिका–८ स्थित रहेको गणेश सामुदायिक वनमा घाँस दाउरा काट्न भएको बेला चितुवाले आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले बताए । ‘घाईते महिलाको अवस्था सामान्य छ,’प्रमुख सुवेदीले भने,‘गम्भिर घाईते रहेका पुरुषलाई उपचारको लागि नेपालगंज लगिएको छ ।’
घटनाको प्रत्याक्षदर्शीका अनुसार चितुवाले आक्रमण गर्दा छेक्ने क्रममा पुरुषको हात चितुवाको मुखमा पस्दा दाँत र नाङ्ग्राले चिथोरेर हातमा गहिरो चोट लागेको प्रमुख सुवेदीले सुनाए । आक्रमण गरेको चितुवा पनि घाईते भएको खबर छ । हाम्रो टिमले घाईते चितुवाको खोजी गरेपनि बिहीबार साँझसम्म फेला नपरेको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए ।