पुर्व राजा ज्ञानेन्द्र शाह बर्दिया आउँदै
बिहिबार, मङि्सर २०, २०८१ मा प्रकाशित

बर्दिया,मंसिर २०(फरकसमाचार)/ यही मंसिर २५ गते बारबर्दिया जयनगरमा पुर्व राजा ज्ञानेन्द्र शाह आउँदैछन् । बारबर्दिया नगरपालिका –६ जयनगर कोठारपुर स्थित श्रीकृष्ण प्रणामी धर्म जागनी शताब्दी एवम् रजत जयन्ती ज्ञान महायज्ञमा पुर्व राजा ज्ञानेन्द्र शाह सपरिवारसहित आउन लागेका हुन् ।

श्रीकृष्ण प्रणामी सेवा समिति नेपालले बुधबार जयनगरमा पत्रकार सम्मेलन गरि पुर्व राजा शाह आउन लागेको कार्यक्रम सार्वजनिक गरेको हो । मंसिर २५ गते दिउँसो १२ बजे महायज्ञमा पूर्व राजा शाहको आगमन हुने आयोजक मुल समारोह समितिले जनाएको छ ।

श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल तथा बारबर्दिया नगरपालिका–६ श्रीकृष्ण प्रणामी मन्दिर कोठारपुरको संयुक्त आयोजनामा महायज्ञ सुरु हुदैछ । यही मंसिर २४ गते देखि मंसिर ३० गतेसम्म श्रीमत्तारतम सागर ब्रह्मवाणी १ सय २५ पाठ पारायण तथा श्रीमद्भागवत धनधान्याचल सप्ताह ज्ञानको आयोजना गरिएको छ । मंसिर २४ गते श्रीकृष्ण प्रणामी धर्माचार्य अनन्तश्री विभूषित जगद्गुरु कृष्णमणिजी महाराजले महायज्ञको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

राष्ट्रिय स्तरको यस धार्मिक महोत्सवमा ५० हजार श्रद्धालु भक्तालुको उपस्थिती गराउने ज्ञान महायज्ञ मूल समारोह समितिको दावी छ । यस धार्मिक महोत्सवमा ५० देखि ६० लाख खर्च हुने अनुमान रहेको आयोजक मूल समारोह समितिले जनाएको छ ।

पंण्डित श्रीकृष्ण प्रसाद सापकोटाको संयोजकमा ज्ञान महायज्ञ हुदैछ । बारबर्दियाका प्रथम जागनी अभियन्ता धामबासी बुद्धिदास थारुका शिष्य धर्मदासद्वारा स्वहस्त लिखित विस १९५८ को दस्ताबेज अनुसार श्रीकृष्ण प्रणामी धर्मको बर्दिया जिल्लामा उद्गम भएको १ सय २३ वर्ष पुरा भएको र श्रीकृष्ण प्रणामी मन्दिर कोठारपुरको स्थापना भएको २५औं वर्षमा प्रवेश गरेको अवसरमा ज्ञान महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ । महाज्ञयमा पंण्डित श्रीकृष्ण प्रसाद सापकोटाद्वारा श्रीमत्तारतम सागर ब्रह्मवाणी ज्ञान चर्चा एवम् भारत बृन्दावनका स्वामी श्री मदनमोहन अलङ्कारको मुखारबिन्दबाट संगितमय श्रीमद्भागवत चर्चा हुनेछ ।

त्यसैगरि सात दिनसम्म आरती सेवा पुजा, वाणी चर्चा, श्रीमद्भागवत कथा प्रवचन, सांस्कृतिक भजन किर्तनलगायतका नियमित कार्यक्रम हुनेछन् ।

व्यवस्थापनको लागि १ सय २५ जना स्वयमसेवक खटाईएको छ । बाहिरबाट आउने २ हजार श्रद्धालुको लागि आवासको व्यवस्था मिलाईएको छ । त्यसैगरि यज्ञमा आउने ५ हजार बढी श्रद्धालुलाई दैनिक भोजन गराउने तयारी छ । महायज्ञबाट उठेको दान स्थानीय स्तरको सामाजिक सेवामा खर्चिने जनाईएको छ ।

बारबर्दिया नगरपालिका भरि रहेका दृष्टिबिहिनलाई ट्याक सुट, ५ सय असहायलाई ब्ल्याकेट, त्यसैगरि बेलभार स्थित आश्रममा रहेका बालबालिका र कुम्भर प्राविका सबै बालबालिकालाई ट्याक सुट वितरण गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर