नेपाल पत्रकार महासंघ बर्दियाको अध्यक्षमा घिमिरे र पौडेल बिच प्रतिस्पर्धा
बिहिबार, मङि्सर २७, २०८१ मा प्रकाशित

बर्दिया,मंसिर २७(फरकसमाचार)/ नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाको अध्यक्ष पदको लागि निर्मल घिमिरे र सन्तोष पौडेल चुनावी प्रतिस्पर्धामा होमिएका छन् । स्वतन्त्र उम्मेदवार घिमिरे र प्रेस युनियनको तर्फबाट पौडेल प्रतिस्पर्धामा होमिएका हुन् । घिमिरे र पौडेलले बुधबार उम्मेदवारी दर्ता गराई प्रतिस्पर्धामा उत्रिएका छन् ।

दुवै पत्रकार बिच कडा प्रतिस्पर्धा हुने देखिएको अन्य पत्रकारहरुले प्रतिक्रिया दिएका छन् । चर्चित पत्रकार घिमिरे अन्य पत्रकार सामु लोकप्रिय मानिन्छन् । त्यसैगरि अर्का पत्रकार पौडेल पुराना पत्रकारको रुपमा चिनिन्छन् । पत्रकारहरुको व्यवसायीक पेशागत हक हितको लागि काम गर्न सक्ने सक्षम व्यक्तिलाई मतदान गरेर चुन्ने पत्रकारले योजना बनाएका छन् ।

उपाध्यक्ष पदको लागि खुल्लाबाट डिल प्रकाश गौतम र महिलाबाट पुष्पा चौधरीले उम्मेदवारी दिएका छन् । सचिवमा यज्ञ सापकोटा र केशव कोइराला बिच प्रतिस्पर्धा हुनेछ । सहसचिव खुल्लामा भिम उचै ठकुरी र समावेशीमा सञ्जु(शरम) चौधरीको उम्मेदवारी परेको छ ।

कोषाध्यक्ष पदको लागि हरि गुरुङ र मिन प्रसाद अधिकारीको उम्मेदवारी परेको छ । केन्द्रिय परिषद सदस्यमा मेघराज सिग्देल र चिरञ्जीवी भावुक योगीले उम्मेदवारी दिएका छन् । प्रदेश परिषद सदस्यको लागि टीकाराम चौधरी, ज्ञानेन्द्रराज पोखरेल र दीपक शर्माको उम्मेदवारी परेको छ ।

त्यसैगरि महिला सदस्यमा भिमा कडेल, दलित सदस्यमा चन्द्र बहादुर विक, जनजाति सदस्यमा विशाल थारु र होमेन्द्र थापा, मधेसीमा मुरली गोडिया, समावेशीमा अफजल खान छन् । खुल्ला सदस्यमा सरोज कामत, ऋषिराम वाग्ले, प्रकाश पौडेल, संजय कुमार आचार्यले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत कमल कुमार पन्थीले जानकारी दिए ।

मंसिर २८ गते शुक्रबार हुने नेपाल पत्रकार महासंघको तीन तहकै निर्वाचन हुनेछ । शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान हुनेछ । बर्दियामा जम्मा ६२ जना मतदाता पत्रकार रहेका छन् ।

उम्मेदवारी उपरको दावी बिरोध आज बिहीबार १० बजे देखि १२ बजेसम्म रहने निर्वाचन समितिले जनाएको छ । त्यसैगरि आज बिहीबार १२ बजे देखि ३ बजेसम्म मनोनयन फिर्ता लिने समय तोकिएको छ । आज अपरान्ह ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने तालिका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय