बर्दिया कारागारमा योग ध्यान
शुक्रबार, पुष १२, २०८१ मा प्रकाशित

यज्ञप्रसाद सापकोटा

बर्दिया,पौष १२ / कारागारमा मानसिक स्वास्थ्य सेवा प्रवद्र्धनका लागि योग ध्यान कार्यक्रम सम्पन्न गरिएको छ । बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्र र बर्दिया कारागारको सहकार्यमा महिला कारागारमा योग ध्यान कार्यक्रम सम्पन्न गरिएको हो ।
कारागार भित्रका गत पुष ४ गते देखि ११ गते सम्म योग ध्यान कार्यक्रम सञ्चालन गरिएको थियो ।

योग ध्यान कार्यक्रममा कारागारका ५९ जना महिलाहरू मध्ये ५७ जना महिला कैदीबन्दी सहभागी भएका थिए । मानसिक तथा स्वास्थ्य राम्रो होस् भनेर योग ध्यान सञ्चालन गरिएको बर्दिया कारागारका प्रमुख नगर बहादुर मिजारले बताए । महिला कारागार तर्फका कैदी बन्दीहरूलाई एक हप्ताको लागि योग तथा ध्यान सिकाइएको हो ।

विभिन्न कानुनी झमेलाबाट तनावपूर्ण विकृत मानसिकताबाट ग्रसितहरूको लागि धेरै नै सहयोग भएको कैदीहरूले बताएका छन् । उनीहरूले सिकेको योग र ध्यानलाई दैनिक रुपमा प्रयोग गर्ने बताएका छन् ।

पुरुष कैदीबन्दीहरूलाई पनि योग र ध्यान सिकाउने योजना रहे पनि क्षमता भन्दा बढी कैदीबन्दी भएको हुनाले सिकाउन नसकिएको प्रमुख मिजारले बताए । सबै पुरुष कैदीबन्दीलाई सिकाउनका लागि ठाउँ नै नपुग्ने भएपछि नसिकाइएको जनाए ।

कैदीबन्दीहरुका नाइकेहरूलाई योगा र ध्यान सिकाइ उनीहरू मार्फत कैदीबन्दीलाई सिकाउने योजना रहेको छ । प्रमुख मिजारले भने –‘सबैलाई एकै पटक सिकाउन सम्भव नै छैन, नाइकेहरूलाई सिकाउने, उनीहरूमार्फत विस्तार मै बसेर गर्न सकिने योग र ध्यानहरू सिकाउने योजना बनाउँदै छौँ ।’

पुरुष ब्लकमा एक सय २५ र महिला ब्लकमा २५ गरी एक सय ५० जनाको क्षमता रहेको बर्दिया कारागारमा चार सय ४६ जना कैदीबन्दी रहेका छन् । महिला ब्लकमा ५९ महिला तिन नाबालक गरी ६२ जना बसिरहेका छन् भने पुरुष ब्लकमा तिन सय ८७ जना कैदीबन्दी बसिरहेका छन् । क्षमता भन्दा बढी कैदीबन्दी हुँदा उनीहरूको जीवन कष्टकर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय