बर्दिया,माघ ९(फरकसमाचार)/ घरेलु हिंसाको सिकारमा दलित महिला एकदमै प्रभावित भएको दलित महिला संघकी अध्यक्ष हिमा सुनारले बताएकी छन् । संघद्वारा मंगलबार आयोजित संचार माध्यममा दलित महिलाको पहुँच अभिबृद्धिका लागि संचारकर्मीको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सुनारले यस्तो बताएकी हुन् ।
तथ्यांकको अनुसार नेपालको हिंसाको अवस्थामा ८२ प्रतिशत दलित महिलाहरु घरेलु हिंसा प्रभावित देखिएको अध्यक्ष सुनारले जनाईन् । ‘बर्दिया जिल्लामा हिंसामा परेका महिलाहरुलाई कसरी बाहिर निकाल्न सकिन्छ भनेर अध्ययन गरिरहेका छौं,’अध्यक्ष सुनारले भनिन्,‘ आर्थिक सशक्तिकरण मुख्य कुरा रहेको अध्ययनले देखाएको छ ।’
सोही आधारमा विगत केही वर्ष देखि महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन दलित महिला संघले काम गरिरहेका छ । महिलाहरुलाई बिउ पुँजी दिएर घुम्ती कोषमा अनुदान रकम दिएर आय आर्जनतिर उन्मुख गराईरहेको सुनाईन् ।
‘जसकारण महिलाहरु व्यवसाय गरिरहेका छन्,’अध्यक्ष सुनारले भनिन्,‘ यसले गर्दा महिलाहरुलाई घरेलु हिंसाबाट माथि ल्याउन सकिन्छ ।’ त्यसैगरि दलित महिला संघले जिल्लामा नीतिगत तहमा बहस गरिरहेको छ । दलित सशक्तीकरण विधेयक ल्याउन स्थानीय पालिकासंग आग्रह गरिरहेको सुनाईन् ।
मधुवन नगरपालिकाले दलित सशक्तकरण विधेयक पास गरिसकेको छ । त्यसैगरि बढैयातालले पनि पास गर्ने चरणमा छ भने बाँसगढी र गुलरियाले विधेयकको ड्राफ्ट तयार गरिसकेको छ । दलित महिलाहरुको स्तर उन्नतिमा स्थानीय सरकार संवेदनशील भईदियो भने आम समुदाय माथि उठ्न सक्छ र दलित समुदायले काँचुली फेर्न पाउँछ । समग्र समाजमा सम्मानित जिवन यापन गराउने दलित महिला संघको मुख्य उदेश्य रहेको छ । यस कार्यमा सघाँउन सबैलाई अध्यक्ष सुनारले आग्रहसमेत गरिन् ।
जातिय विभेद, मानव अधिकार उल्लंघनलगायतका हिंसा पिडितको पक्षमा जिल्लाका संचारकर्मीले समाचारमार्फत वकालत गर्दै आईरहेको नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरेले बताए । ‘संचारकर्मीले आफ्नो प्रवाह नगरि हकहित संरक्षणको लागि निरन्तर कलम चलाएको अवस्था छ,’अध्यक्ष घिमिरेले भने,‘संचारकर्मीको योगदानलाई संघसंस्थाले बुझ्नुपर्छ ।’ हामी संचारकर्मीले सबै किसिमका समाचार लेख्नुपर्ने हुनाले नभ्याएको हुन सक्छ । कुनै किसिमका हिंसाका घटना भएमा जानकारी गराउन मिल्ने घटना बारे संचारकर्मीलाई जानकारी गराउन अध्यक्ष घिमिरेले धारणासमेत राखे ।
फाउन्डेशन फरअ जस्ट सोसाईटीको सहयोगमा दलित महिला संघले बाँसगढी, गुलरिया, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकामा काम गरिरहेको जनाईएको छ ।