मध्यवर्ति क्षेत्र त्याग गर्ने गेरुवा गापाको निर्णय
बिहिबार, माघ १०, २०८१ मा प्रकाशित

बर्दिया,माघ १० (फरकसमाचार)/ मध्यवर्ति क्षेत्रमा रहेर काम गर्न गाह्रो भएपछि गेरुवा गाउँपालिकाले मध्यवर्ति क्षेत्र त्याग गर्ने निर्णय गरेको छ । गत पौष २५ गते १७औं गाउँ सभाले मध्यवर्ति त्याग गर्ने निर्णय गरेको हो । गेरुवा गाउँपालिको सिमाना बर्दिया राष्ट्रिय निकुञ्जसंग जोडिएकोले मध्यवर्ति क्षेत्रमा पर्दछ । मध्यवर्ति क्षेत्र भएपछि नदिजन्य पदार्थ र खेतबारीमा रोपेको रुखबिरुवा काम परेको बेला काट्न निकुञ्जसंग अनुमति लिनुपर्ने प्रावधान छ ।

जसले गर्दा विकास निर्माणको काम अलपत्र परेको गेरुवा गाउँपालिकाको ठहर छ । त्यसैगरि स्थानीयको जग्गा गेरुवा नदिले काट्दै बगरमा परिणत गर्दै गएको अर्को समस्या छ । बगरमा परिणत भएको जग्गा निकुञ्जले कब्जामा लिने, निकुञ्जका जनावर खेतबारीमा लगाएको बाली नोक्सान गर्ने र क्षतिपुर्तिको लागि लामो झनझाटिलो प्रक्रियाले स्थानीयहरु आजित भएको गुनासो गर्छन् ।

काम गर्न असहज भएपछि मध्यवर्ति क्षेत्रबाट छुटिने निर्णय गरिएको गेरुवा गाउँपालिकाका सुचना अधिकारी कुन नारायण चौधरीले बताए । ‘नदिजन्य पदार्थ निकाल्न पाईदैन,स्थानीयले आफ्नै खेतबारीमा लगाएको बिरुवा काट्न पाउँदैनन्,’सुचना अधिकारी चौधरीले भने,‘स्थानीयको ९ सय बिघा जग्गा गेरुवा नदिले कटान गरेर बगरमा परिणत गरेको छ ।’ मध्यवर्ति क्षेत्र भएकोले विकास निर्माणका संरचना निर्माण बर्दिया राष्ट्रिय निकुञ्जसंग अनुमति लिनुपर्ने । अनुमति लिन पनि लामो र झनझाटिलो प्रक्रिया त्यसमा पनि निकुञ्जले अनुमति नदिने कारणले विकास निर्माणका आयोजनाहरु अलपत्र हुने अवस्थामा पुग्ने सुनाए ।

‘गेरुवा नदि यतातिर सर्दै जाने र स्थानीयको जग्गा कटान गर्दै गएको छ,’सुचना अधिकारी चौधरीले भने,‘उता निकुञ्जले बगरमा परिणत भएको जग्गा कब्जा गर्दै गएको छ ।’ जसले गर्दा निकुञ्जको सिमाना कहाँसम्म हो एकिन भएको छैन । मध्यवर्ति क्षेत्रमा नबसेपछि समस्याको समाधान हुन्क कि भनेर त्याग गर्ने निर्णय गरिएको सुचना अधिकारी चौधरीले जनाए ।

चौधरीका अनुसार निर्णय कार्यान्वयको लागि गाउँपालिकाबाट सर्वदलित टिम नै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा डेलिगेशन पुगेको छ । अन्य मध्यवर्ति क्षेत्रमा पनि समस्या हुन सक्छ जसकारण समिति बनाएर संस्थागत रुपमा आउन विभागले जिकिर गरेको सुचना अधिकारी चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय