‘हिंसाका घटना बाहिर ल्याउन जरुरी’
मङ्गलबार, माघ १५, २०८१ मा प्रकाशित

बर्दिया,माघ १५(फरकसमाचार)/ हिंसाको तथ्यांक केलाउँदा महिलाहरुमाथि धेरै हिंसा भएको दलित महिला संघकी अध्यक्ष हिमा सुनारले बताएकी छन् । दलित महिला संघ द्वारा सोमबार आयोजित दलित महिला माथि भएको हिंसाको अवस्था अध्ययन प्रतिवेदन सार्वजनिकरण कार्यक्रम अध्यक्ष सुनारले यस्तो बताएकी हुन् ।

नेपाल प्रहरीबाट प्राप्त तथ्यांकको अनुसार नेपालमा कुल घटनामध्ये ८२ प्रतिशत घरेलु हिंसा रहेको देखिएको अध्यक्ष सुनारले जनाईन् । ‘बर्दिया प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा १ सय १० र आव २०८०/०८१ मा १ सय ६५ महिला तथा बालबालिका हिंसामा परेको देखिन्छ,’अध्यक्ष सुनारले भनिन्,‘अधिकांश दलित महिला तथा बालबालिका हिंसामा परेको देखिन्छ ।’

त्यसैगरि ओसिएमसिको तथ्यांक अनुसार आव २०७९/०८० मा १९ प्रतिशत र आव २०८०/०८१ मा २३ प्रतिशत दलित महिलाहरु हिंसामा परेका छन् ।’ हिंसाको स्वरुपमा बलात्कार र यौनजन्य हिंसामा परेको देखिन्छ । दलित महिलाहरुको अवस्था दर्दनाक छ । दलित महिलाहरु हिंसामा छन् त्यसलाई बाहिर ल्याउन सबै जना लाग्न जरुरी रहेको सुनाईन् । यो विषयमा शून्य सहनशिलतामा काम गर्नुपर्ने उनले जिकिर गरिन् ।

समग्रमा हेर्दा दलित महिलाहरु ३० देखि ३५ प्रतिशत हिंसामा परेको तथ्यांक छ । हिंसाका स्वरुप हेर्दा बलात्कार, घरेलु हिंसा, यौन जन्य शिकार भएको देखिन्छ । दलित महिलाको हिंसाको तथ्यांक केलाउँदा राज्य यस विषयमा संवेदनशिल हुनुपर्ने अध्यक्ष सुनारले सुनाईन् । ‘मधेसी दलित महिलाहरु अझै हिंसामा परेको तथ्यांक छ तर पनि बाहिर नआएको अवस्था छ,’अध्यक्ष सुनारले भनिन्,‘सरोकारवालाहरुले पनि यस विषयलाई चासोको साथ अघि बढाउनुपर्ने देखिन्छ ।’
हिंसाका घटना न्युनिकरण गर्न पिडित स्वयम अगाडि आउन अध्यक्ष सुनारले आग्रह गरिन् ।

नेपालमा जातीय तथा लैङ्गिक आधारमा महिला र बालिकाहरुमाथि हुने भेदभाव र हिंसाका घटनाहरुको अध्ययन, विश्लेषण र दस्तावेजीकरण गरि एकिकृत प्रतिवेदन तयार गर्न दलित महिला संघले विगत लामो समय देखि हिंसाको अध्ययन गरेको जनाईएको छ । एक ठाउँमा तथ्यांक उपलब्ध भई सरोकारवाला निकायको ध्यानाकर्षण गर्न र हिंसा न्युनिकरणका लागि अध्ययन विश्लेषण गरेको जनाईएको छ ।

घरेलु हिंसाका घटना न्युनिकरणको लागि चासो दिईएको गुलरिया नगरपालिकाकी उप–प्रमुख सावित्रा गौतमले बताईन् । ‘अझैपनि हिंसाका घटना रोकिएको छैन,’उप–प्रमुख गौतमले भनिन्,‘सोचमा परिवर्तन गरि यस्ता हिंसालाई न्युनिकरण गर्न जरुरी छ ।’

जुन किसिमले हिंसाका घटना आउँछ,त्यो किसिमले मुद्दा नपरेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले बताए । यस्ता हिंसाका घटना बाहिर ल्याउन समुदाय स्तरमा सचेतनामुलक कार्यक्रम गर्नु पर्ने डिएसपी मगरले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय