राम प्रसाद चौहान
बर्दिया,माघ १८(फरकसमाचार)/ इलाका प्रहरी कार्यालय मैनापोखरले लागु औषधमा संलग्न रहेका व्यक्तिलार्ई धमाधम पक्राउ गरिरहेको छ । इप्रका मैनापोखरले लागु औषध सेवनकर्ता तथा ओसार पसारमा संलग्न व्यक्तिहरुलाई खोज्दै पक्राउ गरिरहेको हो ।
प्रहरीको तथ्यांक अनुसार जिल्लामा लागु औषध सम्बन्धि अपराध एक नंम्बरमा रहेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरका अनुसार जिल्लामा सबै भन्दा बढी लागु औषधसहित मानिस पक्राउ गर्ने इप्रका मैनापोखर हो । गत भदौ २६ गते देखि उक्त इप्रका प्रहरी निरीक्षक राजेश साहुले हाकिरहेका छन् ।
चालु आर्थिक वर्षको साउन देखि हालसम्म जम्मा ६६ वटा मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रमुख प्रहरी निरीक्षक राजेश साहुले बताए । ‘जसमा ३५ वटा मुद्दा लागु औषधका छन्,’प्रहरी निरीक्षक साहुले भने,‘लागु औषधमा संलग्न रहेका २ जना महिला र ५२ जना पुरुष गरि जम्मा ५४ जना पक्राउ परेका छन् ।’
साढे छ महिनाको अन्तरालमा ३८ ग्राम १ सय ३० मिलीग्राम लागु औषध ब्राउनसुगर बरामद भएको छ । त्यसैगरि २ किलो १ सय ६ ग्राम ८ सय मिलीग्राम चरेस र १६ किलो ६ सय ५४ ग्राम गाँजा बरामद गरेको इप्रका मैनापोखरको तथ्यांक छ ।
शान्ति सुरक्षा कायम गर्दै लागु औषध न्युनिकरणलाई विशेष प्राथमिकतामा राखी अघि बढिरहेको प्रहरी निरीक्षक साहुले बताए । ‘बढैयाताल गाउँपालिकासंग समन्वय गरि व्यापक सचेतनामुलक कार्यक्रम गरिरहेका छौं,’प्रहरी निरीक्षक साहुले भने,‘विद्यालय, पालिका र समुदायमा सचेतनामुलक कार्यक्रम गरेका छौं ।’ लागु औषधमा संलग्नलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी परिचालन गरि निगरानी बढाईएको छ । त्यसैगरि लागु औषध सम्बन्धमा सुचना संकलनको लागि समुदायका व्यक्तिहरुसंग समन्वय गरेका छौं ।
अहिले बढैयातालमा चलिरहेको महोत्सवमा लागु औषध, घरेलु हिंसा तथा साइबर अपराध न्युनिकरणको लागि सर्वसाधारणलाई पर्चा पम्पलेट वितरण गरिरहेको प्रहरी निरीक्षक साहुको भनाई छ ।
अदालतले फैसला गरि फरार रहेका ३६ जना प्रतिवादी पक्राउ गरि ३२ वर्ष १० महिना ४ दिन कैद सजाय र रु १ लाख ९५ हजार ४ सय १७ जरिवाना असुलउपर गरिएको प्रहरी निरीक्षक साहुले जनाए । प्रहरी निरीक्षक साहुका अनुसार भन्सार छली ल्याईएका अबैध सामान बरामद गरि रु १४ लाख १४ हजार ८ सय ४२ राजश्व संकलन गरिएको छ ।