रामप्रसाद चौहान
बर्दिया,माघ २०(फरकसमाचार)/ पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभि खोप अभियान सुरु हुँदैछ । माघ २२ गते देखि पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभि खोप अभियान सुरु हुने जनाईएको हो । स्वास्थ्य कार्यालय द्वारा शुक्रबार आयोजित जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा संचारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रममा एचपिभि खोप अभियान बारे जनाईएको छ । यो अभियान देशभरि नै माघ २२ देखि फागुन ६ गतेसम्म संचालन हुदैछ । बर्दियामा माघ २२ देखि २८ गतेसम्म लक्षित वर्गलाई खोप दिएर सक्ने स्वास्थ्य कार्यालयको योजना रहेको जनाईएको छ ।
२० हजार ६ सय २१ जना किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभि खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयकी प्रमुख सुनिता पौडेलले बताईन् । ‘जिल्लाभरि कक्षा ६ देखि कक्षा १० सम्मका १९ हजार ४ सय ९० जना छात्रा र विद्यालय बाहिरका १० वर्ष देखि १४ वर्षका १ हजार १ सय ३१ जना किशोरीलाई एचपिभि खोप दिईनेछ ।’ स्वास्थ्य कार्यालयलाई २१ हजार किशोरीलाई पुग्ने खोप उपलब्ध भएको छ । ३ सय ६ वटा विद्यालयहरुमा खोप केन्द्र तोकिएको छ । विद्यालय नजाने किशोरीहरुको लागि प्रत्येक वडामा रहेको स्वास्थय केन्द्रमा खोप दिने प्रबन्ध मिलाईएको प्रमुख पौडेलले सुनाईन् ।
यो खोप छात्राहरुको लागि धेरै उपयोगी रहेको नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरेले बताए । ‘यो रोगबाट महिलाहरु धेरै प्रभावित भएको तथ्यांक छ,’अध्यक्ष घिमिरेले भने,‘आम संचारमाध्यमले समुदायमा जनचेतना फैलाउने भुमिका निर्वाह गर्नेछन् ।’
लक्षित वर्गलाई नछुटाई एचपिभि खोप लगाउन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । ‘ढिलै भएपनि सरकारले निःशुल्क खोप ल्याएको छ,’प्रजिअ शर्माले भनिन्,‘यस अभियानलाई सबैले सहयोग गरि सफल बनाऔं ।’
एचपिभि खोप अभियानलाई सबैले सहकार्य गरि सफल बनाउन जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख सुर्य बहादुर बिष्टले आग्रह गरेका छन् ।
एचपिभि खोप सुईको माध्यमबाट ० दशमलव ५ मिलि बायाँ पाखुरामा एक पटक मात्र लगाईने जनाईएको छ । महिनावारी भएको बेलामा पनि एचपिभि खोप लगाउन मिल्नेछ । लक्षित उमेर समूह बाहेक अन्य व्यक्ति, गर्भवती महिला र विगतमा कुनै खोप लगाउँदा गम्भिर एलर्जी भएकालाई एचपिभि खोप लगाउन नहुने जनाईको छ । त्यसैगरि एचपिभि खोप लगाउँदा सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, रिगाँटा लाग्ने, थकाई लाग्ने, पेट दुख्ने वाकवाकी लाग्ने जस्ता सामान्य असर देखिन सक्नेछन् । यस्ता असर थोरै समयपछि आफै ठिक हुने जनाईएको छ ।
विश्वमा पाठेघरको मुखको क्यान्सरको अवस्था भयावह छ । विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष ५ लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ जुन सन् २०३० सम्म ७ लाख पुग्ने अनुमान छ । प्रत्येक वर्ष पाठेघरको मुखको क्यान्सरका कारणले ३ लाख ११ हजार जना महिलाहरुको मृत्यु हुने गरेको छ जुन सन् २०३० सम्म ४ लाख पुग्ने आँकलन गरिएको छ ।
नेपालमा हरेक वर्ष २ हजार १ सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ जसमा हरेक वर्ष १ हजार ३ सय १३ जना महिलाहरुको मृत्यु भईरहेको तथ्यांक छ । नेपालमा औसतमा प्रत्येक दिन ४ जना महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको रेकर्डले पुष्टि गर्छ । उक्त मृत्युदर घटाउने उदेश्यले सरकारले खोप अभियान चलाएको छ ।
पाठेघरको मुखको क्यान्सरबाट बच्न २५ देखि ४९ वर्षका महिलाहरु हरेक ३ वर्षमा पाठेघरको मुखको परीक्षण गराउन आवश्यक रहेको चिकित्सकहरुको भनाई छ ।
पाठेघरको मुखको क्यान्सर निवारण गर्ने विश्वव्यापी रणनीतिलाई अवलम्बन गर्दै राष्ट्रिय खोप सल्लाहकार समितिले राष्ट्रिय खोप तालिकामा एचपिभि खोप समावेश गर्न सिफारिस गरेको र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त सिफारिस कार्यान्वयन गर्न निर्णय गरेको छ ।