बर्दिया,माघ २५(फरकसमाचार)/ जिल्ला प्रशासन कार्यालय बर्दियाले बजार अनुगमनका क्रममा मापदण्ड विपरीत संचालन भएका तीन पसललाई जरिवाना गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रोशन कुमार कठायतको नेतृत्वमा खटिएको अनुगमन टोलीले बुधबार तीन पसललाई कारवाही गरेको हो ।
गुलरिया बजार र खैरापुर बजार अन्तर्गतका ८ वटा जनरल स्टोर, किराना पसल, अर्डर एण्ड सप्लायर्स, ट्रेडर्स, हार्डवेयर, विक्रि केन्द्रको अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयले प्रेस विज्ञप्तीमार्फत जनाएको छ । जसमा तीन पसललाई रु १७ हजार जरिवाना गरिएको छ भने म्याद गुज्रिएका एवम् अवैध रुपमा राखिएका मुल्य रु ३९ हजार ६ सय ४० बराबरको सामान जफत गरिएको विज्ञप्तीमा उल्लेख छ ।
अनुगमनमा सहायक प्रजिअ, गुलरिया नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ र पत्रकार महासंघको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।