बर्दिया,माघ ३०(फरकसमाचार)/ माग पुरा नभए आन्दोलन गर्न बाध्य हुने किसानहरुले चेतावनी दिएका छन् । बगहिपुर शाखा कुलो जल उपभोक्ता संस्था गेरुवा गाउँपालिका–१ मा आवद्ध किसानले तीन बुँदे माग राख्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई सोमबार ज्ञापन पत्र बुझाउँदै चेतावनी दिएका हुन् ।
किसानले प्रजिअ शर्मामार्फत नेपाल सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । ज्ञापन पत्र बुझ्दै प्रजिअ शर्माले समस्या समाधानको लागि आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
कर्णाली चिसापानी नजिकको मुख्य मुहान खन्नको लागि २ वटा एक्सा वेटरको व्यवस्था अविलम्ब गर्न, एक्सा वेटर संचालनको लागि आवश्यक इन्धन तथा मर्मत संम्भारको व्यवस्था गर्न र सरोकारवाला निकायबाट यस विषयमा सुनुवाई नभएमा अन्तिम विकल्पको रुपमा बेगारी गरि सिँचाईको लागि मुहान खनी पानी ल्याउने कार्यमा कहिकतैबाट अवरोध नआउने व्यवस्था मिलाउने माग ज्ञापन पत्रमा उल्लेख छ ।
माग पत्रमा उल्लेख गरिएका माग पुरा नभए सम्पुर्ण किसानहरु आन्दोलन गर्न बाध्य हुने जनाईएको छ ।
कर्णाली नदीको पश्चिम भंगालोमा पानीको बहाब गएपछि मुहान पुरिएर पानी नआएपछि गेरुवा गाउँपालिका र राजापुर नगरपालिकाका किसानहरु मर्कामा परेका छन् ।
बुढीकुलो, मनाउ, खैरी, मानपुर टपरा कुलो अन्तर्गत पर्ने विभिन्न शाखा कुलो समेत गरि कुल १६ हजार हेक्टर क्षेत्रफल सिँचाई योग्य जमिन छ । कुलोमा पानी नआएर सिँचाईको व्यवस्था नहुँदा चैते धान र बसन्त मकै खेती गर्ने किसान चिन्तित बनेका छन् । तत्काल सिँचाईको व्यवस्थाको लागि आवश्यक पहल गरिदिन किसानले प्रजिअलाई ज्ञापन पत्र बुझाएका छन् ।