बर्दिया,फागुन १४ / लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले आफु पढेको विद्यालयमा अक्षय कोष स्थापनाको लागि रु एक लाख हस्तान्तरण गरेका छन् । ‘मेरो विद्यालय मेरो दायित्व’अभियानको आरम्भ कार्यक्रममा मन्त्री तिमिल्सिनाले एक प्रिय पुर्व विद्यार्थी अक्षय कोष स्थापनाका लागि गेरुवा गाउँपालिका–२ स्थित श्री एक प्रिय राठोर माध्यमिक विद्यालयलाई शुक्रबार रु एक लाख हस्तान्तरण गरेका हुन् । विद्यालयको शैक्षिक अवस्था सुधारको लागि लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अन्तर्गत ‘मेरो विद्यालय मेरा दायित्व’ अभियान आरम्भ गरेको छ ।
एक प्रिय माविबाट गत वर्ष एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी विजय अधिकारी र सन्जिला चौधरीलाई रु ५÷५ हजारले मन्त्री तिमिल्सिनाले पुरस्कृत गरेका छन् । मेरो पढाई जिवनमा जुन कष्ट भोग्नु पर्यो त्यो कष्ट अध्ययनरत विद्यार्थी भाई बहिनीहरुले नभोग्नको लागि यो कार्यक्रम संचालनमा ल्याईएको मन्त्री तिमिल्सिनाले बताए ।
‘विद्यालयमा अहिले अध्ययनरत विद्यार्थीहरुलाई पुरस्कृत र प्रोत्साहन गर्न यो कार्यक्रम ल्याईएको छ,’मन्त्री तिमिल्सिनाले भने,‘यो कार्यक्रमलाई हामीले निरन्तर अघि बढाउने छौं ।’ यस रकमबाट स्थापना गरिने अक्षय कोषलाई सदुपयोग गर्न र पारदर्शी बनाउन विद्यालय व्यवस्थापन समितिलाई मन्त्री तिमिल्सिनाले आग्रहसमेत गरे ।
शैक्षिक सरोकारवालाहरुको सकारात्मक भुमिका र सहयोगमा सामुहिक विद्यालयको खस्कदो स्तरलाई क्रमशः सुधार गरि हाम्रो विद्यालय राम्रो विद्यालय बनाउने ‘मेरो विद्यालय मेरो दायित्व’अभियानको उदेश्य रहेको मन्त्री तिमिल्सिनाले दावी गरे । यस विद्यालयबाट सिकेको अनुशासनबाट नै आज मन्त्री हुन सफल भएको बताए ।
‘त्यस्तै गरि यो विद्यालयबाट अध्ययन गरेका अन्य विभिन्न साथीहरु उच्च पदस्थमा हुनुहुन्छ,यस विद्यालयको उन्नतिको लागि उहाँहरुले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ,’मन्त्री तिमिल्सिनाले भने,‘उहाँहरुलाई आगामी दिनमा जोडि विद्यालय प्रतिको दायित्व बोध गराई सहयोगको लागि अभिप्रेरित गराई विद्यालयको प्रगति गर्न सकिनेछ ।’
लुम्बिनी प्रदेशका १२ जिल्लाका १४ सामुदायिक विद्यालयबाट शुक्रबार एकैसाथ अभियान आरम्भ गरिएको छ । यस अभियानले प्रदेशका १ सय ८ स्थानीय तह अन्तर्गत ४ हजार ५ सय ३१ सामुदायिक र ५ सय ४० धार्मिक विद्यालयमा सामुहिक सहभागितामा विस्तार गरि विद्यालयहरुको गुणात्मक सुधार गरिने जनाईएको छ ।
विद्यालयमा विगतमा अध्ययन गरि हाल विभिन्न क्षेत्रका जिम्मेवार पद र हैसियतमा रहेका पुर्व विद्यार्थीहरुलाई आफ्नो विद्यालय प्रतिको भुमिका बोध गराई सहयोगका लागि अभिप्रेरित गराउने हो । यस अभियानबाट विद्यालयको भौतिक तथा शैक्षिक पक्षमा गुणात्मक सुधार, शैक्षिक विकासमा सहभागिता, पारदर्शिता र जवाफदेहिता बढ्ने सामाजिक विकास मन्त्रालयले अपेक्षा गरेको छ ।