दोषीलाई कडा कारवाही गर्न महिला अधिकारकर्मीहरुको माग
बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित

बर्दिया,फागुन ८(फरकसमाचार)/ महिलाको हत्यामा संलग्न दोषीलाई पत्ता लगाई कडा कारवाही गर्न महिला अधिकारकर्मीहरुले माग गरेका छन् । घरमा एक्लै बस्दै आएकी महिलाको क्रुरतापुर्वक भएको हत्याको घोर भ्रत्सना गर्दै हत्यामा संलग्न दोषीलाई तत्काल पत्ता लगाई कडा कारवाही गर्न महिला अधिकारकर्मीहरुले माग गरेका हुन् ।

नारी एकता शक्ति केन्द्र ठाकुरबाबा र महिला मानव अधिकार रक्षक संजाल बर्दियालगायत महिला अधिकारकर्मीले उक्त घटनाको सम्बन्धमा बिहीबार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मामार्फत गृह मन्त्रालायलाई विज्ञप्ती बुझाएका छन् ।

यस्ता अपराधिक घटनाले महिलाहरु सुरक्षित नभएको जिकिर गर्दै समाजमा दिनदिनै बढ्दै गएको अपराधिक घटना र हिंसा बढ्न नदिई महिलाहरुलाई हिंसाबाट बचाउन मानव अधिकार, नागरिक समाज र सबै सरोकारवाला निकायसंग हिंसा रहित समाज निर्माणमा सघाँउन महिला अधिकारकर्मीले अपिलसमेत गरेका छन् ।

घरमा एक्लै बस्दै आएको मौका छोपी नगद रुपिया र गरगहना लुटपाट गरि बर्बरतापुर्वक भएको महिलाको हत्या निन्दनिय घटना भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । घटना भएको एक साता बित्न लाग्दासमेत दोषी पक्राउ नपर्नु दुखद रहेको महिला अधिकारकर्मीहरुको ठहर छ । उक्त घटनाको सत्यतत्य छानबिन गरि घटनामा संलग्न दोषीलाई कडा कारवाही गर्न माग गर्दै प्रजिअ शर्मामार्फत गृह मन्त्रालयलाई विज्ञप्ती बुझाई घटना प्रति ध्यानाकर्षण गराएको नारी एकता शक्ति केन्द्रकी अध्यक्ष दुर्गा सापकोटाले बताईन् ।

उक्त घटनालाई उच्च प्राथमिकतामा राखी अनुसन्धान भईरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । ‘शंकास्पद १७/१८ जनालाई ल्याई सोधपुछ गरेका छौं,’प्रजिअ शर्माले भनिन्,‘अनुसन्धानलाई प्रभावकारी बनाउन स्थानीयबाट थप सुचनाको अपेक्षा गरेका छौं ।’

फागुन ४ गते ठाकुरबाबा नगरपालिका–१ की ५१ वर्षिय राधा बोहोराको घरभित्र सलले घाँटी बाँधिएको अवस्थामा शव फेला परेको थियो । प्रहरीका अनुसार घरको बाहिरबाट ताल्चा लगाईएको थियो । स्थानीयका अनुसार फागुन १ गते दिनभरि जंगल गई दाउरा ल्याई साँझ ५ बजे छिमेकको बिहेको घर देखिएकी थिईन् । त्यस दिनदेखि दुई तिन दिनसम्म महिला नदेखिदाँ स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले खोजतालस गर्दा घरको बाहिरबाट ताल्चा लगाईएको अवस्थामा बन्द घरभित्र मृत अवस्थामा महिला भेटिएकी थिईन् । स्थानीयका अनुसार मृतक महिलाको छोरी बैदेशिक रोजगारमा छिन् । महिला घरमा एक्लै बस्दै आएकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय