हाट बजारमा प्रहरीको छापा,व्यापारी आन्दोलित
बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित

बर्दिया,फागुन १०/ गुलरिया नगरपालिका–७ स्थित लाग्ने तरकारी हाट बजारमा प्रहरीले अबैध सामान भित्रिएको भन्दै छापा मारेपछि व्यापारी आन्दोलित भएका छन् । शनिबार प्रहरीले सदरमुकाममा लाग्ने हाट बजारमा छापा मारेर सामान लगेपछि व्यापारी तथा हाट बजारका ठेकेदार आन्दोलित भएका हुन् ।

भारतबाट अबैध तरकारी ल्याएको भन्दै प्रहरीले शनिबार हाट बजारको मुख्य गेटमा चेकजाँच गरि गुलरिया नगरपालिका–१० कालाबन्जरका दुई जना व्यापारीको तरकारी नियन्त्रणमा लिएपछि सम्पुर्ण व्यापारीहरुको सहमतिमा हाट बजारमा तल्चा लगाएको हाट बजारका ठेकेदार कृष्ण कुमार(सुनिल) यादवले बताए । ‘भारतीय सामान ल्याएर हाट बजारमा बिक्री गर्न हामीले प्रोत्साहन गरेका होइनौं,’यादवले भने,‘अबैध रुपमा ल्याउने सामान रोक्नुपर्छ ।’ सिमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।

अबैध रुपमा ल्याएको तरकारी सिमानाकामा किन समातिदैन,कसरी सिमाबाट सदरमुकामसम्म आएको प्रश्न गर्ने बित्तिकै प्रहरीले भ्यानमा हाल्न खोजेको यादवले सुनाए । ‘१४ लाखमा नगरपालिकासंग हाट बजारको ठेक्का लिएका छौं,’यादवले भने,‘व्यापारको समयमा हाट बजारभित्र आएर चेकजाँचको नाममा प्रहरीले बजार बिथोल्न खोजेपछि आन्दोलित हुँदा बुवा छोरा १ घण्टा प्रहरी हिरासतमा बस्नुपर्यो ।’

कुनै ठुलै अपराध गरे जस्तो हाट बजारबाट प्रहरीले तानातान गरि भ्यानमा राख्न खोज्दा बुवा खेमाचन्द्र अहिरले लगाएको कपडासमेत च्यातिएको कृष्ण (सुनिल) यादवले जनाए । जहाँ पनि चेकजाँच गर्न पाउने भन्दै एक घण्टापछि हिरासत कक्षबाट प्रहरीले छोडेको यादवले सुनाए । हाट बजार ठेकेदार यादवलाई प्रहरीले थुनेपछि व्यापारीहरु जिल्ला प्रहरी कार्यालय अगाडि पुगेका थिए ।

सिमानाकामा प्रहरी तैनाथ हुँदा हुँदै पनि कसरी अबैध तरकारी भित्रिरहेको सिमावर्ती नेपाली किसानले गुनासो गर्छन् ।
आफ्नै खेतबारीमा उब्जाएको तरकारी हाट बजारमा बिक्री गर्न लैजाँदा प्रहरीको असुलीमा पर्ने गरेको गुलरिया नगरपालिका–१० मथुराका कृषक तेलीले बताए । ‘भारतबाट अबैध रुपमा मोटरसाइकलमा बोराका बोरा तरकारी ल्याउनेलाई प्रहरीले रोक्दैन,’तेलिले भने,‘तर हामीले आफ्नै बारीको तरकारी हाट बजारसम्म बिक्री गर्न ल्याउँदा किसान कार्ड देखाउँदासमेत प्रहरीलाई तरकारी दिने बाध्यता रहेको छ ।’

भारतीय व्यापारी आएर खुल्लम खुल्ला व्यापार गर्न पाउनुपर्छ, भन्सार तिर्न नपरोस् भन्ने भिड प्रहरी कार्यालय अगाडि आएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक केदार खनालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय