सात महिनामा १४ हजार बढी पर्यटक निकुञ्ज प्रवेश
बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित

बर्दिया,फागुन १५ (फरकसमाचार)/ बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन र भ्रमण गर्ने पर्यटकहरुको घुँईचो लाग्ने गरेको छ । निकुञ्ज अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरुको बिहानै देखि घुँईचो लाग्ने गरेको हो । बर्दिया राष्ट्रिय निकुञ्ज पाटे बाघ र हात्तीको लागि प्रख्यात मानिन्छ ।

हात्तीसार, गोही प्रजनन् केन्द्र अवलोकन तथा जंगल सफारी, जंगल वाकको लागि बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकको रोजाईमा पर्ने गरेको छ । निकुञ्ज सफारी गरेर फर्किएका अधिकांश पर्यटकहरुले जंगलको राजा पाटे बाघलगायत अन्य जनावर हेरेर खुसी भएर फर्किने गरेका छन् ।

जंगल सफारीको नजाने पर्यटकहरुले बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्वारा स्थित गोही प्रजनन् केन्द्रमा रहेका गोली, घाँडियाल, हात्ती, कछुवा, पाटे बाघ, गैँडालगायतका जनवार हेरेर फर्किन्छन् ।

चालु आर्थिक वर्ष २०८१/०८२ को साउन देखि माघसम्म १४ हजार ७ सय ४८ जना पर्यटक निकुञ्ज प्रवेश गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सुचना अधिकारी सरोज मणी पौडेलले बताए । उनका अनुसार १० हजार ४ सय ३० आन्तरिक पर्यटक, ७ सय ९ सार्क मुलुक र ३ हजार ६ सय ९ जना अन्य मुलुकका प्रर्यटक निकुञ्ज प्रवेश गरेका छन् । आन्तरिक पर्यटकलाई निकुञ्ज प्रवेश गर्न रु १ सय, सार्क मुलुकका पर्यटकलाई रु ७ सय ५० र अन्य मुलुकका पर्यटकका लागि रु १ हजार ५ सय राजश्व लाग्ने गरेको जनाईएको छ ।

निकुञ्जको तथ्यांक अनुसार आर्थिक वर्ष ०७८/०७९ मा १६ हजार २ सय ९७, आर्थिक वर्ष ०७९/०८० मा २४ हजार ३ सय ९८ र आर्थिक वर्ष ०८०/०८१ मा २६ हजार १ सय ३१ पर्यटक निकुञ्ज प्रवेश गरेको देखिन्छ । निकुञ्जको तथ्यांक अनुसार प्रत्येक वर्ष पर्यटकको संख्या बढ्दै गएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय