बर्दियामा पहिलो पटक तीन तारे विद्यालय घोषणा
शुक्रबार, फागुन १६, २०८१ मा प्रकाशित

यज्ञप्रसाद सापकोटा

बर्दिया, फागुन १६/ बारबर्दिया नगरपालिका–११ मा रहेको श्री नेपाल प्राज्ञिक आधारभुत विद्यालय जब्दी बर्दिया कै पहिलो तीन तारे विद्यालय घोषणा भएको छ । विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ अनुसार बर्दिया कै पहिलो तीन तारे विद्यालय घोषणा भएको हो ।

सरकारले विद्यालय तहको खानेपानी सरसफाइ र स्वच्छताको सुधार गरी विद्यालय शिक्षाको गुणस्तरीयता कायम गर्ने उद्देश्यले २०७४ सालमा कार्यविधि ल्याएको थियो । नेपाल सरकारको विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ अनुरुप मापदण्ड पुगेकाले विद्यालयलाई तेस्रो तारा घोषणा गरेको बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारूले बताए ।

उनका अनुसार सरकारले बनाएको कार्यविधि अनुसार नगरपालिकामा विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि २०८१ बनाएर विद्यालयको खानेपानी सरसफाइको मापदण्ड तोकेको बताए । नगरपालिकाले बनाएको कार्यविधि अनुसार अनुगमन गरी मुल्याङ्कन गर्दा तेस्रो तारामा पनि ३० अंक ल्याए पछि नगरपालिकाको सामाजिक विकास समितिले तीन तारे विद्यालय घोषणा गर्ने निर्णय गरेको हो ।

तीन ताराको स्तरमा पुगेको विद्यालयमा विद्यार्थी संख्याको अनुपातमा पहुँच युक्त सुरक्षित खानेपानी र शौचालयको सुविधा, विद्यालयमा फोहोर मैला व्यवस्थापन, साबुन पानीले हात धुने सुविधा, विद्यालयमा फुलवारी बगैँचाको व्यवस्था, दिवा खाजाको व्यवस्था गरीएको हुन्छ । त्यसैगरी विद्यालयमा सरसफाइ युक्त व्यवहार परिवर्तनका साथै खानेपानी सरसफाइ मर्मत सम्हार कोषको समेत व्यवस्था गरिनु पर्दछ ।

घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सिचाई मन्त्री एवं सभासद संजय गौतमले विद्यालयको शैक्षिक गुणस्तरको लागि खानेपानी सरसफाइ र स्वच्छताले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।

उनले सहयोगी संस्था लगाएत सम्पूर्णको सहयोगमा विद्यालयलाई तीन ताराको स्तरमा पुगेको बताउँदै यसलाई निरन्तरता दिनुपर्ने सुनाए ।

बर्दियामा नेपाल सरकारको कार्यविधि अनुसार बर्दिया जिल्लाका चार वटा स्थानीय तह गुलरिया, बारबर्दिया र मधुवन नगरपालिकार गेरुवा गाँपालिकाले विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यविधि बनाई लागु गरीसकेको छ । ठाकुुरबाबा नगरपालिकाले कार्यविधि बनाउने पक्रियामा रहेको छ ।

कार्यविधि अनुसार बारबर्दिया नगरपालिकाले थप तिन वटा विद्यालयलाई तिन तारा घोषणा गर्ने निर्णय गरिसकेको छ । गुलरिया नगरपालिकामा एक, ठाकुरबाबा नगरपालिकामा २ वटा र गेरुवा गाउ पालिकामा एक वटा विद्यालय तिन तारा घोषणा गर्ने तयारीमा रहेको बेस बर्दियाका परियोजना संयोजक जगदिश प्रसाद चौधरीले बताए । उनका अनुसार बर्दिया जिल्लामा हाल ३३ वटा विद्यालयमा कार्यविधि अनुसार काम भईरहेको छ । वाटर एड नेपालको आर्थिक सहयोगमा नेपाल प्रजनन स्याहार केन्द्र र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालको प्राविधिक सहयोगमा बेस संस्था द्वारा वास गेन्स परियोजना सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय