बर्दिया,फागुन १६(फरकसमाचार)/ प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा गाँजा फडानी अभियान सुरु भएको छ । गुलरिया नगरपालिका–२ जयनपुर स्थित बिहीबार खेतबारीमा प्राकृतिक रुपमा उम्रिएको गाँजा फडानी गरि अभियान सुरु भएको हो । लागु औषध न्युनिकरण गर्ने उदेश्यले खेतबारीमा प्राकृतिक रुपमा उम्रिएका गाँजा फडानी सुरु गरिएको जनाईएको छ ।
प्रजिअ शर्माको नेतृत्वमा २१ जना सुरक्षाकर्मी, राजनैतिक दलका प्रतिनिधि र स्थानीयहरुको उपस्थितीमा पहिलो दिन बिहीबार जयनपुर स्थित १० कठ्ठा खेतबारीमा प्राकृतिक रुपमा उम्रिएको गाँजा फडानी गरिएको छ ।
प्राकृतिक रुपमा उम्रिएका गाँजा प्रसस्त मात्रामा देखियो, यसले हाम्रा युवाहरुलाई लागु औषधमा फसाएर बिग्रार्न सक्ने सम्भावना भएकोले गाँजा फडानी अभियान सुरु गरिएको प्रहरी उपरीक्षक केदार खनालले बताए । ‘यो अभियान जिल्लाभरि १५ दिनसम्म चल्नेछ,’प्रहरी उपरीक्षक खनालले भने,‘ जिल्ला स्थित मातहतका प्रहरी चौकीले अभियान अवधिभर गाँजा फडानी गर्नेछन् ।’ गाजाँ फडानी अभियानमा स्थानीयलाई उपस्थित गराउँदा लागु औषध गलत हो यसमा लाग्नु हुदैन भन्ने समाजमा सकारात्मक सन्देश दिने प्रहरी उपरीक्षक खनालको भनाई छ ।
पछिल्लो समय धेरै युवाहरु लागु औषध दुव्र्यसनमा फसेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । ‘लागु औषध जन्य पदार्थको ओसार पसार, बिक्री र उपयोगलाई कन्ट्रोल गर्ने काम सुरक्षा निकायले गरिरहेको छ,’प्रजिअ शर्माले भनिन्,‘गाँजा फडानी अभियान सुरु भएको छ ।’ गाँजा फडानीले लागु औषध रोकथाम र नियन्त्रण अभियानलाई सहयोग पुग्ने प्रजिअ शर्माले विश्वास व्यक्त गरिन् ।