बर्दिया,फागुन २१/ ठाकुरबाबा नगरपालिकाले स्वास्थ्य संस्थाहरूमा खानेपानी, सरसफाई र स्वच्छता व्यवस्थापन सुधार गर्न नेपाल सरकारद्धारा विकसित वाश फिट टुल संचालन भएको छ । नगरपालिका अन्तर्गत स्वास्थ्य संस्थाको वास सुधार गर्न वाश फिट टुल संचालन भएको हो । यस टुलको प्रयोगले स्वास्थ्य संस्थाहरूमा सरसफाई, सुरक्षित खानेपानी आपूर्ति, सरसफाई व्यवस्थापन, वातावरणीय र संक्रमण नियन्त्रणमा सुधार ल्याउने लक्ष्य राखिएको छ ।
यस पहलको पहिलो चरणमा, ठाकुरबाबा नगरपालिकाका सम्पुर्ण स्वास्थ्य संस्थाहरूमा वाश फिट समितिहरू गठन गरी तिनीहरूलाई वास फिटको महत्व, उद्धेश्य, विशेषता, क्षेत्रहरु, सूचकहरु, समितिको महत्व, समितिको जिम्मेवारी, समितिको भूमिका र टुलको सम्बन्धी अभिमुखीकरण प्रदान गरिनेछ । हालको अवस्थामा मोहनपुर आधारभुत स्वास्थ्य सेवा केन्द्र, शिवपुर स्वास्थ्य चौकी र बनकट्टी आधारभूत स्वास्थ्य सेवा केन्दमा वास फिट सम्बन्धि अभिमुखीकरण गरिएको छ । अभिमखीकरणका कक्रमा ती समितिहरूले वास फिट सम्बन्धि जानकारी प्राप्त पश्चात स्वास्थ्य संस्थाको वास सम्बन्धि विस्तृत मूल्यांकन गरी सुधार कार्य योजना तयार गरेको छ ।
यो प्रक्रिया स्थानीय गैर सरकारी संस्था गेरुवा ग्रामीण जागरण संघ बर्दियाको सहकार्यमा सञ्चालन भएको थियो । स्वास्थ्य संस्थालाई वास फिट सम्बन्धि अभिमुखीकरण ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु न्यौपानेले प्रदान गरेका थिए । वास फिट सम्बन्धि पहिले तालिम प्राप्त स्वास्थ्य संस्था प्रमुखबाट पनि अभिमुखीकरणमा सहजीकरण भएको थियो ।
यो पहलले स्वास्थ्य संस्थाहरूमा सरसफाई र स्वच्छता मापदण्डहरू सुधार गरी सेवाग्राहीलाई सुरक्षित र स्वस्थ वातावरण प्रदान गर्न टेवा गर्नेछ । पालिकाको स्वास्थ्य शाखा प्रमुख विष्णु न्यौपानेका अनुसार नगरपालिकाले यस कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सरोकारवालाहरूको सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरेको र आगामी दिनमा सम्पूर्ण स्वास्थ्य चौकीहरुमा वास फिट लागु गरि वास सम्बन्धि सुधार गर्न पहल गरिनेछ ।