सबैको सहयोगमा भुमि सम्बन्धि समस्या समाधान गर्ने : अध्यक्ष राठोर
बुधबार, फागुन २१, २०८१ मा प्रकाशित

बर्दिया,फागुन २१(फरकसमाचार)/ सरोकारवालाहरुको साथ सहयोगमा जिल्ला स्थित रहेको भुमि सम्बन्धि समस्या तत्काल समाधान गर्ने भुमि समस्या समाधान आयोग बर्दियाका अध्यक्ष अरुण प्रकाश सिंह राठोरले बताएका छन् । भुमि समस्या समाधान आयोग बर्दियाद्वारा मंगलबार आयोजित सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रममा अध्यक्ष राठोरले यस्तो दावी गरेका हुन् ।

धेरै कसरतपछि जिल्ला समन्वय समितिको पछाडितिर कार्यालयको व्यवस्थापन गर्न सकेको अध्यक्ष राठोरले बताए ।‘अब धेरै गफ गर्दैनौं,’अध्यक्ष राठोरले भने,‘अब हाम्रो टिमले काम गरेर देखाउनेछ ।’

बल्लतल्ल कार्यालयको व्यवस्थापन भयो । अझै कामकाजको लागि आवश्यक जनशक्ति उपलब्ध भएको छैन । त्यसको लागि आफु निरन्तर लागिपरेको सुनाए । आज तपाईहरुसंग अन्तरक्रियाको माध्यमबाट भुमि सम्बन्धि विगतमा कुन पालिकाको कति काम कहाँसम्म पुगेर रोकिएको हो । अब कसरी जाँदा सहज हुने सल्लाह सुझाए लिएको बताए । तपाईहरुको सल्लाह सुझाव अनुसार अब तत्काल काम सुरु गर्ने अध्यक्ष राठोरले भनाई राखे ।

जिल्ला स्थित करिब ४४ हजार जनाको भुमि सम्बन्धि समस्या रहेको तथ्यांकले देखाएको जनाए । जिल्लामा भुमि सम्बन्धि समस्या समाधानको लागि करिब ३ वर्षको कार्य अवधि पाएको सुनाए । यदि सरकार हेरफेर भएन भने यस अवधिमा सत प्रतिशत दलित भुमिहिन, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने विश्वास व्यक्त गरे । भुमि सम्बन्धि समस्या समाधानको लागि हाम्रो टिमले तिव्र गतिमा काम गर्नेछ । जिल्ला स्थित रहेका आठ वटै स्थानीय तह, राजनैतिक दललगायत सम्पुर्ण सरोकारवालाले आवश्यक परेको खण्डमा सघाँउन अध्यक्ष राठोरले आग्रहसमेत गरेका छन् ।

लामो समय देखि आयोग गठन हुने र बिघटन हुने प्रक्रिया चलि रहँदा भुमिहिन सुकुम्बासी झन् पिडित भएको अन्तरक्रियामा सहभागी सरोकारवालाले असन्तुष्टि जनाएका थिए । फेरि पनि आयोग गठन हुँदा भुमिहिन सुकुम्बासीहरुले जग्गा पाउने आश गरेका छन् । छिटो भन्दा छिटो आयोगले आफ्नो काम अगाडि बढाई भुमि सम्बन्धि समस्या समाधान गर्न पालिका प्रमुखहरुले आग्रह गरेका छन् ।

आयोगलाई आवश्यक परेको खण्डमा सघाउने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । राजापुर नगरपालिका बाहेक अन्य सबै पालिकाको नगर प्रमुख तथा उप–प्रमुखहरुको अन्तरक्रिया कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय