ज्ञानेन्द्र पोखरेल
बर्दिया,फागुन २३/ बढैयातालमा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । ‘स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ बढैयाताल गाउँपालिकाको समन्वय र ७ नम्बर वडा कार्यालयको आयोजनामा आज शुक्रबार देखि फुटबल प्रतियोगिता सुरु हुने भएको हो । उक्त प्रतियोगिता बढैयाताल गाउँपालिका– ८ को नयाँ बस्ती खेल मैदानमा हुनेछ । दिउँसो २ बजे प्रतियोगिताको उद्घाटन हुनेछ ।
फुटबल खेलमा प्रथम हुने टिमलाई रु २० हजार ट्रफि प्रमाणपत्र, दोस्रो हुनेलाई रु १० हजार ट्रफि प्रमाणपत्रले पुरस्कृत गरिनेछ । उत्कृष्ट खेलाडी, उत्कृष्ट टिम र बढि गोल गर्ने खेलाडीलाई समेत पुरस्कारको ब्यवस्था गरिएको छ । उक्त प्रतियोगिताको अनुमानित खर्च रु १ लाख ८० हजार हुने पत्रकार सम्मेलनमा जनाईएको छ ।
वडा नं. ४ र वडा नं. ६ बिच उद्घाटन खेल हुने तालिका छ । खेल नक आउटको आधारमा खेलाईने आयोजकले जनाएको छ । प्रत्येक दिन दिनको १ वजे खेल संचालन हुने र प्रत्येक दिन दुई वटा खेल हुनेछ । फागुन २७ गते फाईनल खेल भई सोहि दिन समापन कार्यक्रम हुने आयोजकले जनाएको छ ।
उक्त प्रतियोगितामा बढैयाताल गाउँपालिकाका ९ वटै वडाबाट टिम सहभागी हुने वडा नं. ७ का वडा अध्यक्ष राधेश्याम थारुले बताए ।
स्वस्थ रहन, युवाहरूलाई खेल प्रति रुचि र आकर्षण बढाउनका लागि खेलकुद अनिवार्य रहेकोले बढैयाताल गाउँपालिकाले गत बर्ष देखि वडा स्तरिय अध्यक्ष कप फुटबल खेलकुद प्रतियोगिताको सुरुवात गरेको जनाईएको छ ।
बढैयाताल गाउँपालिका– ७ ले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा वडा ७ का अध्यक्ष राधेश्याम थारु, वडा सदस्य, खेल संचालन उपसमितिका संयोजक हिक्मत सुनार, गोचालि युवा क्लबका सदस्य, मयुर युवा क्लबका सदस्यलगायतको उपस्थिति रहेको थियो ।